आइतबार, वैशाख १४, २०८२

फिरन्ता समुदायबारे नयाँ

नेपालखोज २०७८ असार १९ गते ११:००

लोपोन्मुख फिरन्ता राउटे समुदायको बारेमा पुस्तक प्रकाशित भएको छ । लेखक एवम् पत्रकार अनन्त वाग्लेद्वारा लिखित उपन्यास ‘कदम’ काठमाण्डु पब्लिकेशनले भर्खरै बजारमा ल्याएको हो । आफूहरूलाई ‘जंगलका राजा’ भनेर चिनाउने राउटे समुदायका बारेमा थुप्रै गैरआख्यान प्रकाशित भए पनि यसबारे यो पहिलो आख्यान भएको प्रकाशक काठमाण्डु पब्लिकेशनले जनाएको छ ।

राउटे समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यानलगायत जिल्लाका जंगलमा बस्ने गर्छन् । स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुखदुःख, परिवार, जीवीका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर लामो समयको मिहिनेतका साथ उपन्यास तयार गरिएको लेखक वाग्लेले बताएका छन् ।

३ सय १६ पृष्ठको यस पुस्तकको मूल्य ४ सय रुपैयाँ रहेको छ । साहित्यिक पाठकका साथै विद्यार्थी, शिक्षक, अध्येता र समाजशास्त्र, मानवशास्त्र र शिक्षाशास्त्रमा रुचि राख्ने तथा यी क्षेत्रमा कार्यरत सबैका लागि पुस्तक अत्यन्त उपयोगी रहेको पब्लिकेसनको भनाइ छ । ‘पृथक विषय र उत्कृष्ट भाषाशैलीका साथ प्रकाशित यस पुस्तकले नेपाली साहित्यमा विशेष महत्व राख्नेछ ।’, काठमाण्डु पब्लिेकेशनका संचालक प्रभाकर जोशीले विज्ञप्तिमार्फत बताएका छन् ।

पुस्तक विशेष समरोहका साथ सार्वजनिक गर्ने योजना भए पनि महामारीका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको पब्लिेकेशनको भनाइ छ । पुस्तक राजधानीका प्रमुख पुस्तक पसलका साथै किताब यात्रा डट कम मार्फत अनलाइन खरीद गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया