आइतबार, वैशाख १४, २०८२

बाठी बुहारी

मिना श्रेष्ठ सबि २०७८ असार २६ गते ९:००

मानबहादुरले छोराहरू एसएलसी पास गरेपछि अगाडिको कक्षामा भर्ना गरिदिए तर ‘अर्काको घर चुलो पोत्ने हुन्’ भन्दै छोरीहरूलाई भने पाँच कक्षामै विश्राम लगाइदिए । आफू दिनै चिउरा कुटेर बजार लगि बेचेर दुई छोरालाई बाह्र पास गराए पनि। जेठी छोरीको छिटै बिहे गरिदिए । माइली केटा खोजेर आफैँ भागी । कान्छी को बिहे हुन बाँकी थियो ।

जेठो छोरा अलि सोझा थिए । उनले आफैँले केटी हेरेर छोराको बिहे गरिदिए । बुहारी १२ पास गरेकी थिइन् । बुहारीको चाहनाबमोजिम चिउरा कुटेर भए पनि बुहारीलाई कलेज पठाए । उनले डिग्री पास गरिन्। जा गिर पनि पाइन् । छोरा विदेश लागे । बुढेसकाल लाग्यो । भारी बोक्न सकेनन् । व्यापार गर्न छाडे । उता बुहारीले भने अंशको माग गर्न थालिन् । छोरा नआइ अंशबण्डा नगर्ने भनेपछि उनले मुद्दा हालिन् । मानबहादुर अदालतमा तारिख खेपिरहेका थिए ।

अहिले कान्छी छोरीले नै सबै दु:खसुख झेल्दै छिन् । हिजोआज मानबहादुरका बूढाबूढी छोरीहरूको घरमा आलोपालो मिलाएर बस्छन् । छोरीलाई पनि आमाबाबुसँगै बस्न पाएकोमा गर्व छ, आमाबाबु पनि खुसी छन् । बूढाबूढीबाट टाढा हुँदा बुहारी पनि मक्ख थिइन्। तर हिजो ५ वर्षको नातीले बुहारीसँग बालजिज्ञासा राख्यो- ‘ममी हजुर पनि यो घर छाडेर आमाजस्तै कहिले जाने नि ?’

प्रतिक्रिया