कोरोनाका कारण सुनसान छ ‘पर्यटकीय केन्द्र ठमेल’

काठमाडौं । काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको हो ।
गत वर्ष आठ महिना बन्द रहेको ठमेल मङ्सिरपछि विस्तारै चहलपहल शुरु भए पनि वैशाखको पहिलो हप्तादेखि नै दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण वृद्धि भएपछि यहाँका पर्यटकीय गतिविधि सञ्चालन नहुँदा सुनसान बनेको हो ।
पहिलो चरणको कोरोना सङ्क्रमणका कारण बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान दोस्रो चरणको कोरोना सङ्क्रमणमा पनि बन्द हुँदा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टर्ड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको हो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो ।
व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन् ।
प्रतिक्रिया