सोमबार, असार २३, २०८२

माओवादी केन्द्रले देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुंगो लगाउने

नेपालखोज २०७८ असार २९ गते १३:१९

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुंगो लगाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले तुरुन्तै भावि प्रधानमन्त्री देउवासँग सरकारको स्वरुपका बारमो ठोस छलफल गरेपछि मात्रै माओवादी केन्द्रका तर्फबाट मन्त्रि बन्नेहरुको नाम टुंगो लगाइने जानकारी दिए ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण फैसलाको रुपमा लिदैँ स्वागत गरेको छ ।

फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको र स्वेच्छाचारिता र निरंकुशताको नियन्त्रण तथा अन्त्य गर्न महत्वपूर्ण योगदान पु¥याएको निष्कर्ष बैठकले निकालेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले प्रतिगमन विरोधी संघर्षका क्रममा आफूहरुले गरेका प्रतिवद्धता पुरा गर्न इमान्दारपूर्वक अघि बढ्ने संकल्प गरेको पनि उल्लेख गरे । माओवादी केन्द्रले सबै राजनीतिक पार्टीहरुलाई आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्नका लागि राष्ट्रिय सहमतीका साथ एकतावद्ध भएर अगाडी बढ्न पनि अपिल गरेको छ ।

बैठकले प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ताहरु, नागरिक आन्दोलन, कानुन व्यवसायीहरु, बुद्धिजिवीहरु, पत्रकारहरु, सबै जनवर्गिय संगठनहरु, सामाजिक संघ संस्थाहरु र आम जनसमुदायलाई बधाई तथा धन्यवाद व्यक्त गरको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया