आइतबार, असार २२, २०८२

युवा प्रधानमन्त्रीमा बराल नियुक्त

नेपालखोज २०७८ असार २९ गते १९:२३

काठमाडौं । मुलुकले नयाँ प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज नियुक्त गरिरहेको बेला आजै युवाहरुको प्रधानमन्त्रीमा स्मृति बराल चयन भएकी छन् ।

‘सङ्घीय नमुना युवा संसद्’मा आज भएको मतदानमा कास्की पोखराकी २३ वर्षीया बराल प्रधानमन्त्रीमा चयन भएकी हुन् । उनि कुल मतको ५२ प्रतिशत ल्याई चयन भएको राष्ट्रिय युवा परिषद्का श्यामकाजी खत्रीले जानकारी दिए । उनि आफ्ना निकटतम नेत्र बुढाथोकीलाई पराजित गर्दै नमुना युवा संसद्मा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् । रामेछापका बुढाथोकीले ४८ प्रतिशत मत प्राप्त गरेका थिए । यसअघि २०७५ सालमा प्रधानमन्त्रीमा अशोक खनाल र २०७६ मा सञ्जीव न्यौपाने चयन भएका थिए ।

त्यस्तै नमुना युवा संसद्ले राष्ट्रपतिमा रुपन्देहीकी २२ बर्षीया प्रकृति पोखरेललाई निर्वाचित गरेको छ । आजै प्रधानमन्त्री नियुक्त भएकी वरालले १० सदस्यीय मन्त्रिमण्डल विस्तार गरेकी छन् । अर्थमन्त्री निर श्रेष्ठ, गृहमन्त्री सुरेन्द्र गिरी, युवा तथा खेलकुद मन्त्री श्रद्धा कुँवर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रुपा कठायत, पर्यटन तथा वातावरण सफल पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि अमित माझी, संसदीय व्यवस्था तथा कानूनमन्त्री अनिल कुँवर, श्रम तथा रोजगारमन्त्री आशिष वास्तोला, मुख्य सचेतक खेम अवस्थी, सचेतक विद्या ढुङ्गाना र प्रमुख सचेतक अनिल भुसाल चयन भएका छन् ।

यसैगरी सभामुखमा सिन्धुपाञ्चोकका अभिषेक तिवारी, उपसभामुख आरती भट्टराई, ज्येष्ठ सदस्य नवीन पहाडी र संसदको प्रमुख प्रतिपक्ष दलको नेतामा रन्जन पौडेले चयन भएका छन् । राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सूसुचित गराउन हिजो (सोमबार) देखि भर्चुअल माध्यमबाट ‘सङ्घीय नमुना युवा संसद’ सञ्चालन गरेको छ । यसरी नमुना युवा संसदबाट चयन भएका प्रधानमन्त्री, सभामुख, मन्त्री, प्रमुख सचेतक, प्रमुख प्रतिपक्ष दलको नेता, सांसदको भूमिकामा चयन भएका युवालाई आज सङ्घीय नमुना संसद सभाको अभ्यासको बारेमा प्रशिक्षित गरिएको छ ।

उनीहरुलाई नेपालको संसदीय अभ्यास, व्यवस्थापिका संसद सञ्चालन, संसदीय शब्दावली, लोकतन्त्रबारे रमेश पौडेल, प्रकाश उपाध्याय र लवप्रसाद गौतमले प्रशिक्षित गराएका छन् । भोलि उनीहरुले आफै संसद् सञ्चालन गर्नेछन् ।
१६ देखि २४ बर्ष उमेरसमूहका ८० युवालाई संसदीय प्रणालीबारे जानकारी गराएर आजदेखि भर्चुअल माध्यम रुपमा सङ्घीय नमुना युवा संसदको अभ्यास गर्दै छन् ।

प्रतिक्रिया