बिहीबार, असार १९, २०८२

जोनसन खोप आजदेखि लगाइँदै, प्रधानमन्त्री देउवा खोप केन्द्रहरुको निरीक्षण गर्दै

नेपालखोज २०७८ साउन ४ गते ८:२३

काठमाडौं । जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुुँदै छ ।

देशका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको थियो । सो खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र सफाइकर्मी लगायतलाई दिइँदै छ ।

काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट आजदेखि पर्सीसम्म जोन्सनको खोप लगाइने छ । काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको प्रधानमन्त्री देउवाले स्थलगत भ्रमण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोना खोप केन्द्रहरुको निरीक्षण गर्दै छन् । यसअघि आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरबार बोलाएर निर्देशनसमेत दिएका थिए ।

नवनियुक्त प्रधानमन्त्री देउवाले आम नागरिकलाई खोप लगाउने भन्दै आफ्नो प्राथमिकता खोप नै भएको बताउँदै आएका छन् । उनले आइतबार साँझ विश्वासको मत माग्दासमेत आफ्नो प्राथमिकता ‘खोप, खोप र खोप’ नै भएको बताएका थिए ।

प्रतिक्रिया