अब भेडाको रगतबाट शक्तिशाली एन्टिबडी

काठमाडौं । वैज्ञानिकहरुले भेडाको रगतबाट एउटा शक्तिशाली एन्टिबडी विकसित गर्ने काममा सफलता हात पारेका छन् । यसबाट अब कोभिड-१९ का लागि जिम्मेवार कोरोना भाइरस (सार्स-कोव-२) र यसका नयाँ घातक स्वरूपलाई प्रभावकारी ढंगले निष्क्रिय तुल्याउन सकिनेछ ।
जर्मनीस्थित म्याक्स प्लेक इन्स्टिच्युट (एमपीआई) फर बायोफिजिकल केमिस्ट्रीका शोधकर्ताहरुका अनुसार भेडाको रगतबाट विकसित यो सूक्ष्म एन्टिबडीले कोरोना भाइरसलाई यसअघि विकसित गरिएका यस्तै एन्टिबडीको तुलनामा एक हजार गुणा बढी निष्क्रिय गर्न सक्छ ।
यो अनुसन्धान रिपोर्ट एम्बो पत्रिकामा प्रकाशित गरिएको छ । शोधकर्ताहरुका अनुसार अहिले भेडाको रगतबाट विकसित यो एन्टिबडीलाई चिकित्सीय परीक्षणमा लाने तयारी भइरहेको छ । यो एन्टिबडी कम मूल्यमै ठूलो मात्रामा उत्पादन गर्न सकिनेछ ।
यसले कोभिड-१९ को उपचारसँग सम्बन्धित अन्तर्राष्ट्रिय माग पूरा गर्ने दाबी गरिएको छ । एन्टिबडीले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा मद्दत पुर्याउँछ । यो एन्टिबडी भाइरससँग टाँसिएर त्यसलाई निष्क्रिय तुल्याउँन निकै प्रभावकारी हुन्छ ।
– विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा








प्रतिक्रिया