हिन्दुमाथि आक्रमण गर्ने १० जना गिरफ्तार

काठमाडौं । दक्षिण एसियाका मुस्लिम बाहुल्य पाकिस्तान र बंगलादेशमा हिन्दु समुदायमाथि अतिवादीहरुको आक्रमण बढ्दै गएको छ ।
पाकिस्तानमा त हिन्दु मन्दिर भत्काउनेदेखि हिन्दु किशोरी तथा युवतीहरुको जबरजस्ती धर्म परिवर्तन गरी स्थानीय मुसलमानहरुसँग विवाह गराइएको घटनामा त्यहाँको अल्पसंख्यक आयोगले सरकारको ध्यानाकर्षणसमेत गराउँदै हिन्दुहरुको धन-सम्पत्ति तथा अस्मिता रक्षाको पक्षमा आवाज उठाउँदै आएको छ । यता धार्मिक अतिवादीहरुको वृद्धिसँगै बंगलादेशमा पनि यस्तै प्रकृतिका घटना बढ्दै गएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार संप्रेषण गरेका छन् ।
यस क्रममा बंगलादेशको प्रहरीले खुलना इलाकाको शियाली गाउँमा हिन्दु समुदायका मानिसहरुको घर, पसल तथा मन्दिर तोडफोड गरेको आरोप लगाउँदै दायर एक उजुरीका सन्दर्भमा १० जनालाई गिरफ्तार गरेको छ । बंगलादेशको द डेली स्टार न्युजपेपरको एक रिपोर्टअनुसार प्रहरीले हिजो (आइतबार) राति उक्त इलाकामा छापा मार्दै संदीग्ध अपराधीहरुलाई पक्राउ गरेको हो ।
तोडफोडको उक्त घटनालाई लिएर रूपसा उपजिल्ला पूजा उत्सव समिति अध्यक्ष सोकतीपद वशुले २४ जनाको नामै किटेर तथा १५० देखि २५० सम्मका अज्ञात अपराधीविरुद्ध उजुरी दर्ता गराएका थिए ।
गएको शनिबार राति शियाली गाउँमा धारिलो हतियार बोकेका करिब सयजनाले विभिन्न घर, पसलका साथै पाँचवटा मन्दिरमा तोडफोड गरेका थिए । खुलना जिल्लाका प्रहरी अधीक्षक मोहम्मद महबुब हसनका अनुसार अहिले त्यहाँको स्थिति नियन्त्रणमा छ । हसनले उक्त क्षेत्रमा थप अप्रिय घटना हुन नदिन अतिरिक्त प्रहरी बल तैनाथ गरिएको जानकारीसमेत दिएका छन् ।
स्थानीय बासिन्दाहरुका अनुसार शुक्रबार हिन्दु र मुस्लिम समुदायका दुई समूहबीच भएको चर्को भनाभन यो हमलाको कारण हुन सक्छ । स्थानीय मानिसहरुका अनुसार त्यो हमलामा छिमेकी शेखपुरा, बामनडांगा तथा चाडपुरका मानिसहरुसमेत संलग्न थिए । आक्रमणकारीहरुले पहिले शियालीस्थित मन्दिरहरु तोडफोड गरेका थिए भने त्यसपछि उनीहरुले छेउछाउका घर तथा पसलहरुलाई निशाना बनाए ।
-विभिन्न सञ्चारमाध्यमहरुको सहयोगमा
प्रतिक्रिया