सोलुखोला हाइड्रोपावर प्रोजेक्टको आईपीओ आज

काठमाडौं । साहस ऊर्जा लिमिटेडले आज सोलुखोला हाइड्रोपावर प्रोजेक्टको आईपीओ निष्कासन गर्ने भएको छ ।
सोलुखुम्बुको थुलुङदूधकोसी ३, पञ्चनमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको साहस ऊर्जाले आयोजना प्रभावितका लागि आज (शुक्रबार) बाट आईपीओ निष्कासन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ दरले एक करोड पाँच लाख कित्ता साधरण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको सहास ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावितलाई ३५ लाख कित्ता सेयर निष्कासन गर्ने जनाएको छ ।
प्रभावित क्षेत्रका बासिन्दाले आज (साउन २९) देखि भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सेयर बिक्री नभए ढिलोमा भदौ २७ सम्म आवेदन दिन सकिने कम्पनीद्वारा जारी सूचनामा छ ।
ग्लोबल आईएमई बैंक सल्लेरी, नेपाल इन्भेष्टमेन्ट बैंक लुक्ला, लक्ष्मी बैंक मुक्ली र नेले शाखा, माछापुच्छ्रे बैंक सल्लेरी र प्राइम कमर्सियल बैंक रमिते शाखाबाट सेयर आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपिओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर तीन अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया