जनै र क्वाँटीमा कोरोना असर, घट्यो व्यापार !

काठमाडौं । जनै र जनै पूर्णिमाको रातमा खाइने क्वाँटीको व्यापार घटेको व्यापारीहरुले जनाएका छन् । काठमाडौंको असन बजारका व्यापारीहरुले जनै र क्वाँटी दुवैको व्यापार गत वर्षको तुलनामा निकै घटेको बताएका छन् ।
असनका व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षभन्दा यस वर्ष क्वाँटीको व्यापार धेरै कम भएको बताए । क्वाँटी तागत दिने खानेकुरा भए पनि व्यापार घटेको उनको भनाइ छ । उनी भन्छन्, ‘व्यापार यसपालि त्यति छैन । धेरै कम छ । क्वाँटी वर्षमा एकपटक खानैपर्ने हो । तर व्यापार कम छ ।’
यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दुर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिए । उनले कोहीकोही बूढाबूढीले जनै लगेपनि युवाहरु धेरैले यसलाई लगाउनै छाडिसकेको अनुभव सुनाए । न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गरेका छन् । तर ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ ।
जनै पूर्णिमालाई हिन्दुहरुको विशेष पर्व मानिन्छ । तर कोरोनालगायत प्रभावका कारण जनै र क्वाँटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरुको बुझाइ छ ।
प्रतिक्रिया