शनिबार, वैशाख १३, २०८२

यौनशोषणको आरोप लागेपछि एसएसपी राणा निलम्बित

नेपालखोज २०७६ माघ १७ गते १४:१७

काठमाण्डौ । यौन शोषण गरेको आरोप लागेपछि संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणालाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो। झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि प्रधान कार्यालयले निलम्बन गर्न गृहलाई अनुरोध गरेको थियो।

राणा बिहीबारदेखि निलम्बनमा परेको बताइएको छ ।

राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन्। जाहेरी परेपछि सुनसरी प्रहरी राणालाई पक्रन अनुमति माग्दै सुनसरी जिल्ला अदालत गएको छ।

अहिले पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । बिहीबार ढिला गरी जाहेरी परेकाले शुक्रबार मात्र स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

ती महिला लामो समयदेखि आफूलाई यौनशोषण गरेको भन्दै गृह मन्त्रालय धाइरहेकी थिइन्।

प्रतिक्रिया