गच्छेदारको बचाउ गर्दै कांग्रेसले भन्योे, ‘उपसभापतिलाई नियोजित रुपमा फसाइयो’
काठमाण्डौ । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध मुद्दा दायर गरेर नियोजित रूपमा फसाइएको भन्दै कांग्रेसले गच्छेदारको बचाउ गरेको छ ।
बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा यस बिषयमा कानुन व्यवसायीहरुसँग गम्भीर रुपमा छलफल भएको बताइएको छ ।
छलफलका क्रममा गच्छेदारलाई नियोजित रुपमा पूर्वाग्रही तरिबाट मुद्दा हालिएको र यसका विरुद्धमा पार्टीले प्रतिवाद गर्नुपर्ने बिषय उठेको बताइएको छ ।
कांग्रेस उपसभापति गच्छेदारमाथि मुद्दा चल्ने थाहा पाएपछि बुधबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेका गच्छदारले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा पुगेर भेटका थिए ।
नेपालको राजनीतिमा तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेताका रुपमा मानिएका गच्छदारलाई मुद्दा लागेपछि कुनैबेला कांग्रेसभित्र प्रभावशाली समूहका रुपमा परिचित विजयकुमार गच्छेदार, खुमबहादुर खड्का र गोविन्दराज जोशी तीनैजना अख्तियारको कब्जामा परेका छन् । खड्काले जेल जीवन बिताएका थिए भने जोशीको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन छ । अहिले गच्छेदार पनि अख्तियारको अनुसन्धानमा आएपछि उनको सांसद पद निलम्बित भएको छ ।
२०४८ सालपछि अधिकांश समय मन्त्री बनेका गच्छेदारले अहिलेसम्म १२ पटक विभिन्न मन्त्रालयको नेतृत्व गरिसकेका छन् । अहिले अख्तियारले दायर गरेको मुद्दा प्रमाणित भएमा गच्छेदारले १३ बर्षसम्म जेल बस्नुपर्नेछ । यो उनको लागि इतिहासकै सबैभन्दा कठिन अवस्था हुनेछ ।
प्रतिक्रिया