सोमबार, वैशाख १५, २०८२

कोभिड १९ बाट प्रभावित व्यवसायीले सहुलियत व्याजमा पुर्नकर्जा पाउने

नेपालखोज २०७८ कार्तिक १४ गते १०:४८


काठमाडौं । नेपाल राष्ट्र बैंकले एकमुष्ठरुपमा प्रदान गरिने पुर्नकर्जाको लागि आवेदन माग गरेको छ । राष्ट्र बैकले आज (आइतबार) परिपत्र जारी वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरुसँग उक्त आवेदन माग गरेको हो ।

राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधि २०७७ (तेस्रो संसोधन) सहित एकमुष्ठरुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुर्नकर्जा, साधारण पुर्नकर्जा तथा विशेष पुर्नकर्जाको लागि आवेदन माग गरिएको हो ।

प्रथम पटक प्रकाशित मिति २०७८ कात्तिक १४ गतेको मितिले यही मंसिर १९ गतेसम्म पुर्नकर्जाको लागि आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो कर्जाको लागि कोभिड १९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुले कर्जा प्रवाहको लागि आवेदन दिन सक्नेछन् ।

अतिप्रभावित क्षेत्र अन्तर्गतको पयर्टन क्षेत्र अन्तर्गत, ट्रेकिङ, ट्राभल एजेन्सी, टुर अपरेटर, क्यासिनो, मसाज, स्पा, होटल तथा पर्यटक आवास, साहसिक पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्क, पार्टी प्यालेस, चलचित्र, बितरण सिनेमा हल आदि रहेका छन् ।

यसैगरी मध्यम प्रभावित क्षेत्र अन्तर्गत खप्ने सामान जस्ते फलाम, स्टिल, टायर, अस्पताल, क्लिनिक, प्रशोधन तथा विक्री वितरण केन्द्र, बन तथा खनिजजन्य उद्योग, औषधी, निर्माण व्यवसाय, छपाई, प्रकाशन तथा सञ्चार गृह, जलविद्युत्, नवीकरणीय ऊर्जा आदि रहेका छन् ।

राष्ट्र बैंकका अनुसार संस्थाले माग गर्ने कुुल पुर्नकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशत हुुनुपर्ने छ । हाल एकमुष्ट पुर्नकर्जा उपयोग गरिरहेका ऋणीहरु यस आव्हानमा पुन आवेदन दिन योग्य हुनै छैनन् ।

एक भन्दा बढी बैंक तथा बित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक, वित्तीय संस्थामार्फत भएको आवेदन व्यहोरा सुनिश्चित गर्नुपर्ने छ । यसैगरी पुर्नकर्जाको लागि आवेदन गर्दा लघु, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदन गर्नुपर्ने छ ।

आवेदनको लागि ऋणी छनौट गर्दा प्रत्येक शाखाबाट न्युनतम पाँच वटा ग्राहक ऋणी समेटिएको हुुनुपर्ने छ । आवेदन पेश गर्ने बैंक तथा वित्तीय संस्थाको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोके बमोजिम पुगेको हुुनुपर्ने छ ।

एकमुष्ट रुपमा प्रदान गरिने पुनकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुर्नकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनि बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ ।

यसैगरी एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनकर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँसम्म हुुने छ । बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुर्नकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ ।

यसरी ग्राहक अनुसार प्रदान गरिने पुर्नकर्जा रकम कुल पुर्नकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

प्रतिक्रिया