शुक्रबार, वैशाख १२, २०८२

अख्तियार आफैले अधिकारको दुरुपयोग गरेको छ : सांसद विश्वकर्मा (भिडियो सहित)

नेपालखोज २०७६ माघ २४ गते १४:२५

काठमाण्डौ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अख्तियार अनुसन्धान दुरुपयोग आयोगले आफैले अधिकारको दुरुपयोग गरेको बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभाका बैठकमा बोल्दै विश्वकर्माले भने ‘अख्तियारले गत बुधबार गरेको निर्णयलाई सरकारले आफ्नो सफलता मानेर गर्व गरेको छ । यसबाट पनि अख्तियार निष्पक्ष नभएको पुष्टी हुन्छ ।’

विश्वकर्माले भने, ‘यो सरकारको छायाँ बन्यो कि भनेर हिँजोसम्म शंका मात्र लागेको थियो । हिँजो सरकारका प्रवक्ताले अख्तियारको कामकारबाही पनि सरकारको उपलब्धी हो भन्नु भएछ । सरकारको नियोजित कार्यक्रमभित्र कांग्रेसका मान्छेहरुलाई थुन्ने, कांग्रेसका मान्छेहरुलाई दोष लगाउने जुन प्रपञ्च रचियो, त्यसमा राजनीतिक प्रतिशोध छ कि छैन ?’

‘एउटै घटनामा योजना बनाउनेहरुले र त्यसलाई सदर गर्नेले उन्मूक्ति पाउने तर सोही बिषयमा मन्त्रीलाई दोषी देखाउने यो कुनैपनि हालतमा न्यायको सिद्धान्त अनुसार हुँदैन,’ विश्वकर्माले भने ।

उनले अख्तियार सरकारको छायाँ बनेको आरोप लगाए ।

हजार दोषी छुटुन् तर एउटा निर्दोष नपरुन् भन्ने न्यायको सिद्धान्त भए पनि ललिता निवास प्रकरणमा उल्टो भएको उनले बताए । सांसद मीनले भने, ‘यहाँ एउटा निर्दोषलाई पक्रिएर सारा कसुरदारलाई उन्मुक्ति दिने पद्दतीको थालनी भयो, त्यसमा कांग्रेसको गम्भीर आपत्ति छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलतर्फ इङ्गित गर्दै उनले जग्गा फिर्ता गर्छु भनेका कारण केहीलाई उन्मुक्ति दिइएको बताए । चोरी गरेको मान्छेले चोरी गरेको सामान फिर्ता गर्छु भन्यो भने के गर्ने भन्ने प्रश्न गरे ।

अख्तियार सरकारको छायाँ बनेको र आफ्नालाई बोक्ने तथा विरोधीलाई ठोक्ने नीति लिएको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया