मंगलबार, असार १०, २०८२

चुनौती झेल्दै चिनियाँ अर्थतन्त्र !

नेपालखोज २०७८ कार्तिक १५ गते १४:२४

काठमाडौं । चिनियाँ अर्थव्यवस्था अहिले एकसाथ तीनवटा गम्भीर चुनौतीबाट गुज्रिरहेको छ । पहिलो, बेल्ट एन्ड रोड इनिसिएसन (बीआरआई) अन्तर्गत विश्वका विभिन्न देशमा सुरूगरिएका परियोजनाहरुलाई निरस्त तुल्याउन थालिएको छ । दोस्रो, रियल स्टेट कम्पनी एभरग्रान्डमा आएको वित्तीय संकट ।

तेस्रो, बिजुली उत्पादनमा आएको व्यापक कमी जसका कारण सहरहरुमा पावर कटको स्थिति उत्पन्न भएको छ । यी तीनमध्ये बीआरआईको संकट सबैभन्दा ठूलो छ । चीनले आफ्नो अतिरिक्त वा सरप्लस पुँजी निवेशका लागि बीआरआईको निर्माण गरेको थियो । बितेका बीस वर्षमा चीनको निर्यात निकै राम्रो रहँदै आएको छ भने घरेलु बचतदर पनि उच्च छ । यस्तो स्थितिमा अर्जित धन कही न कही निवेश गर्न जरुरी थियो ।

यसकै लागि चीनले बीआरआई योजना तयार गर्‍यो । यो योजनाअन्तर्गत चीनले विश्वका विभिन्न देशलाई उनीहरुको आधारभुत संरचना खडा गर्न भन्दै ऋण दियो । विश्व बैंकले सन् २०१९ मा बीआरआई सम्बन्धमा एउटा अध्ययन गरेको थियो । बीआरआईअन्तर्गत सञ्चालित परियोजनाहरुबाट स्थानीय देशहरु लाभान्वित हुनसक्ने विश्व बैंकको उक्त अध्ययनले देखाएको थियो ।

चीनबाट युरोप जान तयार भइरहेको रेललाइनका कारण कजाकिस्तान र पोल्यान्डमा निर्माण बढिरहेको छ । यद्यपि बीआरआईमा ठूलो भ्रष्टाचार व्याप्त छ । यसमा बढी खर्च देखाएर परियोजना स्वीकृत गराइन्छ । त्यसैले धेरैजसो देश यसबाट पछि हट्न चाहन्छन् । पहिले माल्दिभ्समा चीन समर्थक प्रोग्रेसिभ पार्टीले बीआरआईको समर्थन गरिरहेको थियो । तर त्यहाँ भएको निर्वाचनमा प्रोग्रेसिभ पार्टी पराजित भयो भने डेमोक्रेटिक पार्टीले जित हासिल गर्‍यो, जसले बीआरआईको विरोध गर्दै आएको थियो ।

मलेसियाका प्रधानमन्त्रीले बीआरआईलाई उपनिवेशवादको नयाँ रूप बताउँछन् । श्रीलंका, बंगलादेश, नेपाल तथा पाकिस्तानले यो परियोजनाको स्वरूप बदल्न आग्रह गर्दै आएको बताइन्छ । बीआरआईबाट लाभ भए पनि यसमा कैंयन् कमीकमजोरी छन् । यदि चीनले ती कमीकमजोरी हटाउने हो भने बीआरआई अगाडि बढ्छ, अन्यथा यो डुब्ने खतरा बढी छ ।

चीनको अर्को संकट एभरग्रान्ड कम्पनीको हो । यसका पछाडि चीनका राष्ट्रपति सी जिनपिङको विचारले काम गरेको छ । राष्ट्रपति सी जिनपिङले कम्पनीहरुको लाभको तुलनामा प्रदूषण, असमानता तथा वित्तीय अस्थिरता हटाउने कुरामा जोड दिए । यही नीतिअन्तर्गत उनले एभरग्रान्ड कम्पनीलाई बढी ऋण लिनबाट रोक लगाए । यस क्रममा उनले नयाँ आर्थिक नीति तय गरे, जसअन्तर्गत कुनै पनि कम्पनीको मूल्यांकन तीन आधारमा गर्न थालियो ।

पहिलो कम्पनिले लिएको ऋणको तुलनामा कति सम्पत्ति छ ? दोस्रो अल्पकालीन ऋणको तुलनामा कति नगद छ ? तेस्रो कम्पनीले लिएको ऋणको तुलनामा उसको आफ्नो पुँजी कति छ ? यदि कुनै कम्पनी कुनै एउटा आधारमा असफल भयो भने त्यो कम्पनीलाई थप ऋण दिन सकिँदैन । एभरग्रान्डले आफ्ना तमाम परियोजना पूरा गरे पनि कोभिड संकटका कारण उसले बनाएका फ्लाटहरुको बिक्री कम भयो । यही कारणले एभरग्रान्ड संकटमा पुग्यो । यसबाट देशको अर्थव्यवस्थालाइ जोगाउन चीन सरकारले आफू मातहतका निकायहरुलाई एभरग्रान्डका परियोजनाहरु खरिद गर्ने आदेश दियो । सरकार एभरग्रान्डका संकटग्रस्त परियोजनाहरु खरीद गरेर उक्त कम्पनीलाई डुब्नबाट जोगाउने प्रयास गरिरहेको छ ।

चिनियाँ सरकारले एभरग्रान्डलाई सरकारी ऋण दिएर बचाउने प्रयास गरेन । परियोजना खरिद गर्नु र ऋण दिनुमा मौलिक अन्तर छ । २००८ मा जब अमेरिकाको जनरल मोटर्स कम्पनीमा संकट देखापर्‍यो तब अमेरिकी सरकारले उसलाई थप ऋण दिएर बचाएको थियो । चीनले एभरग्रान्डलाई त्यस्तो ऋण दिएर बचाउन चाहेन र उसलाई आफ्नो सम्पत्ति बेचेर ऋण कम गर्न भन्यो । यसबाट एभरग्रान्ड कम्पनी जोगिने सम्भावना वृद्धि हुने र सरकार माथि पनि अनावश्यक वित्तीय भार नपर्ने सरकारको आकलन छ । यसबाट चीनको अर्थव्यवस्था पनि जोगिने सरकारको अपेक्षा हो । यद्यपि अहिले यो प्रक्रिया संकटमा देखिँदै छ ।

चीनको अर्को चुनौती ऊर्जा हो । राष्ट्रपति सी जिनपिङले प्रदूषण, असमानता तथा वित्तीय अस्थिरता हटाउने संकल्प लिएका छन् । त्यसैले प्रदूषणबाट मुक्ति पाउन थर्मल बिजुली संयत्रहरुलाई प्रदूषणको स्तर कम गर्न आदेश दिइएको थियो । नियमको पालन गर्न नसकेका कारण कैंयन् बिजुली संयन्त्र बन्द भए । यसैको फलस्वरूप बिजुलीको उत्पादन घट्यो । विद्युत् कम्पनीहरुले ठूला औद्योगिक एकाइहरुलाई बिजुली दिन छाडे ।

कतै-कतै त सहरमा पावर कट नै लागु गर्नुपर्‍यो । सरसर्ती हेर्दा चीनले यो संकट आफैं निम्त्याएको हो, किनभने चीन स्वच्छ ऊर्जा उत्पादनमा अग्रसर हुन चाहन्छ । चीनमा सौर्य तथा वायु ऊर्जाको उत्पादन क्रमश: बढिरहेको छ । यसैले पनि चीनले यो कडा कदम चालेको हो । यसबाट सौर्य तथा वायु ऊर्जाको उत्पादनले प्रोत्साहन पाउनेछ । यदि वायु र सौर्य उर्जा योजनाअनुसार उत्पादन भयो भने चीन चाँडै नै बिजुली संकटबाट मुक्त हुनेछ ।

चीनले झेलिरहेका यी तीनवटै चुनौतीका सकारात्मक तथा नकारात्मक पक्षहरु छन् । बीआरआईमा यदि चीनले परियोजनाहरुको सही आर्थिक मूल्यांकन गरेर कमसल परियोजनाहरुलाई निरस्त गर्ने र सुदृढ परियोजनाको काम अघि बढाउने हो भने बीआरआई सफल हुनेछ । अन्यथा डुब्नेछ । एभरग्रान्ड कम्पनी यदि आफ्नो सम्पत्ति बेचेर सुदृढ भयो भने चीनको एउटा आर्थिक चुनौती समाधान हुनेछ ।

त्यसको विपरीत यदि चीनले यदि ठूला कम्पनीहरुको वित्तीय गडबडीमा अंकुश लगाएन भने उसको अर्थव्यवस्था पनि हल्लिनेछ । यदि सौर्य तथा वायु ऊर्जाको उत्पादन बढ्यो भने बिजुलीको संकट पनि समाप्त हुनेछ । यसबाट चीनको पर्यावरणमा मात्र सुधार आउने हैन अर्थव्यवस्थाले पुन: गति पनि प्राप्त गर्नेछ । अब हेर्न मात्र बाँकी छ चीनले यी चुनौतीहरु पार लगाउँछ कि लगाउँदैन ? के चाँडै चीन सफल भएर पुन: आफ्नो लयमा फर्कनेछ ?

प्रतिक्रिया