मंगलबार, असार १०, २०८२

साढे १८ लाख माला खपत हुने अनुमान

मीना साउँद २०७८ कार्तिक १५ गते १८:३३

अन्य समयभन्दा तिहारमा फूलको प्रयोग बढी हुन्छ । अझ भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई फूलको माला लगाउने भएकाले यस दिन माग पनि बढी हुन्छ ।

काठमाडौं । यस वर्ष तिहारमा साढे १८ लाख फूलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले यस वर्ष तिहारमा साढे १८ लाख मालाको व्यावसायिक कारोबार हुने अनुमान गरिएको बताए । त्यसमध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लाको गरी तीन लाख मखमलीको माला आन्तरिक उत्पादन छ ।

गोदावरी फूलको माला १५ हजार बिक्री हुने गरेकामा त्यो पनि बाहिरबाट आयात नगरी आन्तरिक मागले धान्ने अध्यक्ष तामाङले बताए । तर, सयपत्री फूलको मालाको हकमा भने साढे १५ लाख माला खपत हुने अनुमान गरिएको छ । साढे १५ लाख मालामध्ये साढे २ लाख माला अपुग हुने भएकाले बाहिरबाट आयात गर्नुपर्ने अध्यक्ष तामाङले बताए । करिब–करिब आन्तरिक उत्पादनले धान्ने अवस्था रहे पनि कात्तिक १ गते आएको भारी वर्षाले केही स्थानमा लगाइएका फूलहरू नष्ट भएका छन् । जसले गर्दा केही फूल बाहिरबाट आयात गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।

फूल टिप्न तयार भएको समयमा आएको वर्षाले यस वर्ष लुम्बनी प्रदेशमा सबैभन्दा बढी ७० प्रतिशत क्षति भएको छ । त्यस्तै प्रदेश १ र २ मा पनि २० प्रतिशत जति फूलमा क्षति भएको उनले बताए । काठमाडौं, ललितपुर र भक्तपुरमा भने भारी वर्षा नभएकाले क्षति नभएको अध्यक्ष तामाङको भनाइ छ ।

अर्को कुरा तिहारका लागि मात्रै लक्षित गरेर फूल उत्पादन गर्ने हो भने त्यो फूल निरन्तर तीन महिनासम्म मात्रै उत्पादन हुने गर्छ । त्यसकारण तिहारको पाँच दिनलाई मात्रै लक्षित गरेर फूल उत्पादन नगरी आफूहरूले वर्षभरिलाई लक्षित गरी उत्पादन गर्ने भएकाले तिहारमा केही माला सयपत्रीको मात्रै बाहिरबाट आयत गर्ने अध्यक्ष तामाङले नेपालखोजलाई बताए ।

साढे २ लाख सयपत्रीको माला आयात

तिहार नेपालीको दोस्रो ठूलो चाड हो । यसलाई नेपालमा धुमधामका साथ मनाउने प्रचलन छ । तर पछिल्लो समय कोभिड संक्रमणका कारण जनस्वास्थ्यका मापदण्डको पालना गरी परिवारमा सीमित भएर मनाउन थालिएको छ । तिहारलाई दिदीभाइको चाड भनेर पनि बुझिन्छ । अन्य समयको भन्दा यतिबेला फूलको प्रयोग अलि बढी हुने गर्छ ।

अझ विशेषगरी तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई फूलको माला लगाउने भएकाले यस दिन बढी प्रयोग हुन्छ । सयपत्री र मखमली तिहारमा बढी प्रयोग हुने फूल हुन् । यी फूलहरू लामो समयसम्म नबिग्रने भएकाले नै तिहारमा यिनको विशेष महत्त्व हुन्छ ।

प्रतिक्रिया