शुक्रबार, पुष ११, २०८२

भारतीय फूलले गर्‍यो बजार कब्जा

नेपालखोज २०७८ कार्तिक १८ गते १३:५५

काठमाडौं । भारतबाट धेरै परिमाणमा फूल आए पछि नेपाली व्यवसायी मारमा परेको गुनासो गरेका छन् । काठमाडौंको नयाँ सडक क्षेत्रमा देखिएको फुलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ ।

भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्रि हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान व्यापारीले गुनासो गरेका छन् ।

काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको बिक्रि धेरै हुने गर्छ । कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बालीसँगै फूल खेतीमा पनि क्षति गरेको थियो । वर्षाले देशभर लगाइएको र बिक्रिका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो ।

काठमाडौँ उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा व्यबसायिक रुपमा फुलको खेति हुने गरेको छ । फूल बेच्नका लागि काठमाडौंमा छिमेकी जिल्लाहरु नुवाकोट,धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा व्यपारी आउने गर्छन । काठमाडौंको नयाँ सडकमा फूल बेच्ने र किन्नेहरुको अत्याधिक भिडभाड देखिए पनि नेपाली किसान व्यापारी भने निराश देखिएका छन् ।

वर्षेनी तिहारको समयमा काठमाडौंमा आई फूल बेच्दै आएका धादिङका अशोक अधिकारीले यस वर्ष भारतबाट फूल अत्याधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गरे । यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो ।

तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भए पछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ । कोरोना संक्रमणको जोखिम कम भएको र मानिसहरुले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो ।

गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ । नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको विभिन्न अध्ययनले देखाएको छ ।

प्रतिक्रिया