एक सिलिन्डर ग्यासको अब १५७५ पर्ने

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । नेपाल आयल निगमले बुधबार एक विज्ञप्ती जारी गर्दै आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल, मट्टितेलको मूल्य ३ रुपैयाँले बढाएको जनाएको छ ।
वृद्धि भएको मूल्यसँगै अब पेट्रोल, डिजेलको मूल्य क्रमशः १३६, मट्टितेलको ११९ तथा आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँले वृद्धि गरि प्रति लिटर १०१ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८९५ र एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँले वृद्धि गरी नयाँ खुद्रा विक्री मूल्य १ हजार ५७५ रुपैयाँ प्रति सिलिण्डर कायम गरिएको छ ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७.५८ रुपैयाँ, डिजेलमा प्रति लिटर १३.१४ रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर ६५७.८४ रुपैयाँ घाटा भएको जनाएको छ । मूल्य वृद्धि पछि पनि निगमलाई १५ दिनमा पेट्रोलमा करिब ६१ करोड २५ लाख, डिजेलमा करिब ९७ करोड ३६ लाख तथा एलपी ग्यासमा करिब १ अर्व ११ करोड १७ लाख घाटा रही समग्रमा २ अर्व ६२ करोड घाटा हुने दाबी गरिएको छ ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्था देखिएकाले अगामी नोभेम्बर १६ तारिख अर्थात कात्तिक ३० गते निगमलाई प्राप्त हुने मूल्य थप वृद्धि भई आउने देखिएको हुँदा निगमको घाटा कम गर्न आगामी दिनमा पनि मूल्य वृद्धि गर्नुपर्ने बाध्यता आउन सक्ने निगमले जनाएको छ । यसअघि पनि निगमले कात्तिक १२ गते इन्धनको मूल्य ३ रुपैयाँले बढाएको थियो ।

प्रतिक्रिया