मंगलबार, वैशाख १८, २०८१

नेप्से २६ सय ९० दशमलव २९ अंकमा सीमित, सातामा १६ अर्ब ६ करोडको काराेबार

नेपालखोज २०७८ कार्तिक २६ गते ११:४६

काठमाडौं । यो साता नेप्से २६ सय ९० दशमलव २९ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय दुई दशमलव १९ अंकमा सीमित भएको छ । नेप्से नियमित काराेबारका लागि यो साता तीन कार्य दिन मात्र खुला थियो ।

जसमध्ये पहिलो र चौथो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द थियो भने खुलेको तीन कार्य दिन पनि नेप्से लगातार ओरालो लागेपछि सेयर कारोबार रकमसँगै सूचक पनि घटेको हो ।

यो साता कुल दुई सय ३० वटा कम्पनीको दुई लाख २३ हजार पाँच सय २४ पटकको कारोबारमा दुई करोड ८६ लाख चार सय नौ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम १६ अर्ब ६ करोड ८० लाख ५१ हजार एक सय ९० रुपैयाँ पुगेको छ ।

यो काराेबार रकम गत साता अर्थात् तिहारअघि नेप्से बन्द हुनुअघिको भन्दा निकै नै कम हो । उक्त साता नेप्सेमा दुई सय ३२ वटा कम्पनीको दुई लाख ८३ हजार नौ सय १२ पटकको कारोबारमा चार करोड ७२ लाख ७५ हजार छ सय ३९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम २८ अर्ब २२ करोड ७५ लाख १३ हजार तीन सय ११ रुपैयाँ पुगेको थियो ।

यो साता कारोबार खुलेको तीन कार्य दिनमध्ये दोस्रो दिन १९ दशमलव दुई अंकले घटेर दुई हजार आठ सय २९ दशमलव ६४ अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम दिन पनि ५९ दशमलव ५७ अंकले घटेर दुई हजार ६ सय ९० दशमलव २९ अंकमा पुगेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दोस्रो दिन दुई दशमलव ७१ अंंकले घटेर पाँच सय २८ दशमलव ३७ अंकमा हुन पुगेकोमा अन्तिम कारोबार दिन १० दशमलव ६३ अंकले घटेर पाँच सय दुई दशमलव १९ अंकमा सीमित हुन पुगेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नबिल बैंक, महालक्ष्मी विकास बैंक, प्राइम कमर्सियल बैंक, नेसनल हाइड्रोपावर कम्पनी आदि परेका छन् । सेयर काराेबार भएका संख्याका आधारमा महालक्ष्मी विकास बैंक, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक आदि परेका छन् ।

यसैगरी बजार पुँजीकरणका आधारमा भने यस साता पनि नेपाल टेलिकम नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । सेयर सूचीकरणतर्फ भने यो साता इन्फिनिटी लघुवित्त वित्तीय संस्था र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी (एचआईडीसीएल) को सेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया