कोरोनाको लक्षण परिवर्तन, आइलाग्यो अर्को चुनौती !

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरपछि बिरामीमा देखिने लक्षण निकै परिवर्तित भएको छ । कोरोना संक्रमणको लक्षण परिवर्तनसँगै रोग पहिचानका लागि चिकित्सकहरुलाई चुनौती बनेको छ ।
चिकित्सकले बिरामीलाई कोरोना जाँचका लागि भने पनि अधिकांशले त्यसलाई गम्भीरतापूर्वक लिएका छैनन् । भारतको कोलकाताबाट सम्प्रेषित एक समाचारअनुसार त्यस्ता बिरामीमा धेरैजसो कोरोनाको भ्याक्सिन लगाइसकेका व्यक्तिहरु रहने गरेको चिकित्सकहरुले बताएका छन् । कोलकाताका चिकित्सकहरु भन्छन्- अहिले कोरोनाको लक्षणमा परिवर्तन आएको छ र यसको लक्षण हल्का मात्र देखिन्छ तर समयमा उपचार नभए त्यही बिरामीको अवस्था पछि जटिल हुनसक्छ ।
चिकित्सकहरु भन्छन्- मानिसहरुमा कोरोना टेस्ट गराउने रुचि देखिँदैन । उनीहरु डाक्टरको सल्लाह पनि नसुने झैं गर्छन् फलस्वरूप कोरोना टेस्टिङमै कमी आएको छ । यही कारणले अहिले कोरोना संक्रमितका यथार्थ तथ्यांक पनि आउन सकिरहेको छैन ।
एउटै परिवारका सदस्यहरु लामो समयसम्म रुघाखोकीले सताइनु पनि यसको एक कारण हुन सक्छ । चिकित्सकहरुले यसमा भाइरसले लक्षण बदलेको कोणबाट पनि हेरिरहेका छन । डा. सब्यसाची बर्द्धन भन्छन्- मौसम परिवर्तन हुँदा नोभेम्बर-डिसेम्बरतिर रुघाखोकी र फ्लुको समस्या सामान्य हुन पुग्छ । यद्यपि एउटै परिवारका सदस्यहरुमा लामो समयसम्म समस्या कायम रह्यो र बिरामीले स्वाद र गन्ध थाहा पाउन छाड्यो भने तत्काल कोरोना जाँच गराउनुपर्छ ।
डा. सब्यसाचीका अनुसार यस्ता रुघाखोकीका बिरामीको जाँच गराउँदा कोरोना पोजेटिभ आएको पइयो । तीमध्ये अधिकांश घरमै भए भने केहीलाई अस्पताल भर्ना गर्नुपर्यो ।
अर्का चिकित्सक देवव्रत साह भन्छन्- अहिले बिरामीहरु कफ निस्कने खोकीको समस्या लिएर आउँछन् जबकि पहिले कोरोनाका बिरामीमा सुक्खा खोकिको समस्या हुन्थ्यो । यसका साथ बिरामीमा हल्का ज्वरो मात्र देखिन्छ । यसअघि कोरोनाका बिरामीमा उच्च तापमानयुक्त ज्वरो देखिन्थ्यो ।
कोलकाताकै डा. रन्जित दास भन्छन्- यस्ता लक्षण भएकाहरुमा पहिले दशमध्ये सातजना कोरोना पोजेटिभ हुन्थे भने अहिले दशमध्ये दुई-तीनजना मात्र कोभिडका बिरामी हुन्छन् । दासका अनुसार कोरोनाविरुद्धको भ्याक्सिनले मानिसहरुलाई निकै फाइदा पुर्याएको छ । अब यसमा कमजोर इम्युनिटी भएका, पाका तथा लामो समयदेखिका दीर्घरोगीहरुले डाक्टरसँग परामर्श गरेर फ्लुको सुई लिनु उपयुक्त हुन्छ ।
अहिले कोरोनाको बुस्टर डोजका सम्बन्धमा अन्योल कायम रहेको र उपलब्धतामा पनि समस्या भएकाले ६ महिनापहिले कोरोनाविरुद्धको भ्याक्सिन लगाएकाहरुले अब फ्लुको एक सर्ट लगाए जोखिम कम हुने चिकित्सकहरुको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया