शनिबार, जेठ ४, २०८२

फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेद्‌वारी दिने

नेपालखोज २०७८ कार्तिक २७ गते १५:५१

मनिला । फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिष्पर्धा गर्ने भएकी छन् । बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिष्पर्धा गर्ने भएकी हुन् ।

साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिष्पर्धा गर्न लागेकाे निर्वाचन आयोगले जनाएको छ । देशको प्रभावशाली पार्टी लकास सीएमडी पार्टीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएकाे आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

‘सारा डुटेर्टेले उपराष्ट्रपति पदका लागि प्रतिष्पर्धा गर्न आवश्यक कागजपत्रहरु आफ्ना प्रतिनिधि मार्फत पठाएर उम्मेदवारी दर्ता गराउनु भएको छ, अब उहाँले उपराष्ट्रपतिमा प्रतिष्पर्धा गर्ने निश्चित भएको छ ।’ आयोगका प्रवक्ता क्रिश्चिना गार्सिया फ्रास्कोले भनेका छन् ।

उम्मेदवारी दर्ताका लागि तोकिएको समयावधि सकिनै लाग्दा उनले उम्मेदवारी दर्ता गराएकी हुन् । निर्वाचन आयोगले आगामी मे महिनामा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उम्मेदवारी दर्ता गराउने समयावधि तोकेको छ ।

उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिष्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पुरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी हुन् ।

आफूले जनताले चाहे अनुसार काम गर्ने गरेकाले मतदाताले आफूलाई निर्वाचित गराउने उनले विश्वास व्यक्त गरिन् । रासस/एएफपी

प्रतिक्रिया