शनिबार, वैशाख १३, २०८२

रसुवागढी नाकामा निर्माणाधीन सुख्खा बन्दरगाहमा कामदारको अभाव

नेपालखोज २०७६ माघ २८ गते ७:५७

२८ माघ, काठमाडाैं । कोरोना भाइरसका कारण रसुवागढी नाकामा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणमा कामदारको अभाव देखिएको छ । यही मङ्सिरदेखि निर्माण सुरु भए पनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको एक सय नौ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरी सकिएको छ ।

चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ ।

त्यहाँ कार्यरत २४ चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएका थिए । अहिले नौ जना कामदार छन् । चीनमा फैलिएको कोरोना भाइरसका कारण उनी निर्माणस्थलमा आउन नपाएका हुन् । निर्माण कार्यमा नेपाली कामदार संलग्न भए पनि पर्याप्त छैनन् । बन्दरगाह निर्माणका लागि पर्याप्त कामदार नहुँदा कामले गति लिन नसकेको इन्टरमोडल यातायात विकास समितिका सभिल इन्जिनियर प्रमोद आचार्यले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया