महिलालाई टेलिशृंखला र नाटकमा अभिनय गर्न प्रतिबन्ध !

काठमाडौं । अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारले महिलाविरुद्ध थप अर्को एउटा कडा नियम ल्याएको छ । अफगानी महिलाले अबदेखि टेलिशृंखला र नाटकमा अभिनय गर्न नपाउने नियम तालिबानी नेतृत्वको सरकारले ल्याएको हो ।
अफगानिस्तानमा तालिबान सरकारले महिलासम्बन्धी विभिन्न नियम बनाउँदै आएको छ । पति र दाजु-भाइको आज्ञाबिना घरबाट बाहिर निस्किन नपाउने, बाहिर कामकाज गर्न नपाउनेलगायत कडा नियमहरू तालिबान नेतृत्वको सरकारले महिलाविरुद्ध यसअघि नै ल्याइसकेको छ ।
अफगानिस्तानमा पछिल्लो समय महिलामाथि प्रतिबन्ध लगाइएको नियमअनुसार महिला पत्रकार, समाचार वा अन्य कार्यक्रम प्रस्तोतालाई टेलिभिजनमा प्रस्तुत हुँदा अनिवार्य रुपमा टाउको छोप्ने कपडा लगाउनु पर्ने नियम बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अगस्त महिनामा अफगानिस्तानको सत्ता नियन्त्रणमा लिँदा तालिबान नेताहरूले बीबीसीलगायत बिभिन्न सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदा महिला हकको ग्यारेन्टी गरिने बताएका थिए ।
उनीहरूले महिलाको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने प्रतिबद्धता समेत जनाएका थिए । तर पछिल्लो समय एकपछि अर्को गर्दै सरकारले महिलाविरुद्ध कडा प्रतिबन्धात्मक नियम लागु गर्दै गएको हो ।
-बीबीसी
प्रतिक्रिया