आइतबार, जेठ ५, २०८२

युगान्डाको अन्तर्राष्ट्रिय विमानस्थल चीनको कब्जामा

नेपालखोज २०७८ मंसिर १५ गते १२:२२

काठमाडौ । पाकिस्तान, श्रीलंकासहित अन्य केही देशपछि अब चीनको ऋणमा डुब्ने नयाँ देश युगान्डा भएको छ । युगान्डा सरकार ऋण चुकाउन असफल भएपछि आफ्नो प्रमुख विमानस्थल चीनलाई सुम्पन बाध्य भएको छ । अफ्रिकी मिडिया टुडेको एक रिपोर्टअनुसार, युगान्डा सरकार चीनका साथ ऋण सम्झौता पूरा गर्न असफल भएको छ ।

रिपोर्टअनुसार युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले यो मामिला सुल्झाउन एक प्रतिनिधिमण्डल बेइजिङ पठाएका थिए । चीनले ऋणका सर्तहरुमा पुनर्विचार गरोस् भन्ने चाहना यो प्रतिनिधिमण्डलको थियो तर उक्त यात्रा असफल भयो किनभने चीनले उक्त ऋण सम्झौताका मूल सर्तहरुमा कुनै पनि परिवर्तनलाई अस्वीकार गरे । अर्थ मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणको एक प्रतिनिधित्वमण्डलले युगान्डा सरकारका तर्फबाट १७ नोभेम्बर २०१५ मा निर्यात-आयात बैंक अफ चाइना (एक्जिम बैंक) का साथ एक सम्झौतामा हस्ताक्षर गर्दै केही सर्तका साथ ऋण लिएको थियो जसलाई विमानस्थलको पुनर्संरचनामा खर्च गरियो ।

रिपोर्टमा भनिएको छ- चिनियाँ ऋणदातासँग गरेको हस्ताक्षरअनुसार युगान्डाले आफ्नो प्रमुख हवाई अड्डाका सन्दर्भमा ‘आत्मसमर्पण’ गर्नुपर्ने स्थिति छ । युगान्डा नागरिक उड्डयन प्राधिकरण (UCAA) का अनुसार ऋण सम्झौताका केही प्रावधान एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल र युगान्डाका अन्य केही सम्पत्ति चिनियाँ ऋणदाताले अधिग्रहण गर्न सक्ने खालका छन् । चीनले युगान्डाको प्रस्ताव अस्वीकार गरेपछि राष्ट्रपति योवेरी मुसेवेनीको प्रशासन असमञ्जस्यमा परेको छ ।

यता चीनको विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारहरुलाई अफ्रिकामा ऋणको जाल बनाएर नियोजित रुपमा कब्जा जमाउने प्रयास गरेको भन्ने आरोप तथ्यात्मक र तार्किक नभएको बताएका छन् । उनका अनुसार कोभिड-१९ को महामारीपछि अफ्रिकी देशहरुमाथिको ऋणको बोझ कम गर्ने पक्षमा चीन छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया