शुक्रबार, असार २०, २०८२

भारतमा पनि भेटियो दुई जनामा ओमिक्रोनको संक्रमण

नेपालखोज २०७८ मंसिर १६ गते २०:२९

दिल्ली । कोरोना भाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको संक्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

“एक जना ४६ बर्षीय र अर्का एक जना ६६ बर्षीय पुरुषमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनबाट संक्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिए ।

उनीहरू सबैलाई आइसोलेसनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहचिव अग्रवालको भनाइ छ । उनले अन्य कोरोना भाइरस भन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनु परेको स्पष्ट पारे।

अहिले विश्वभरीका २९ देशमा ओमिक्रोनका सङ्क्रमितहरु भेटिएको र उनीहरुको संख्या अहिलेसम्म ३७३ पुगेको पनि उनले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ओमिक्रोनको संक्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको छ ।

सुरुमा वि.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले २६ तारिखका दिन ओमिक्रोन नामाकरण गरेको हो । यसलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए । अहिले विश्वभरका दर्जनौ देशहरूले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन् ।

प्रतिक्रिया