आइतबार, जेठ ५, २०८२

भीमसेन मन्दिरको छानो छाउन श्रमदान आह्वान

नेपालखोज २०७८ मंसिर १८ गते १४:२४

काठमाडौं । ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको भीमसेन मन्दिरको छानो झिँगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।

भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउन स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौं’ भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिँगटी छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरिएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको मन्दिरको पुनर्निर्माणको काम सकिन लागेको छ । स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग परी पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्‍याइएको मन्दिरमा झिँगटीको छानो छाउने काम सुरु गरिएको छ । समिति अध्यक्ष महर्जनले स्थानीयकै उपस्थितिमा छानो छाउने काम पनि सम्पन्न गर्न लागिएको बताए ।

कार्यक्रममा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल पनि ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको सम्पदा पुनर्निर्माण कार्यमा स्थानीयको सहभागिता गौरव गर्न लायक रहेको प्रतिक्रिया दिइन् । उनले सम्पदाहरुको पुनर्निर्माण हामी आफैं गर्न सक्छौं भन्ने कुराको दृष्टान्त पनि यस मन्दिरको पुनर्निर्माणमा स्थानीयको सहभागिताले देखाएको भन्दै खुसी व्यक्त गरिन् ।

यो मन्दिर पुनर्निर्माणका लागि करिब चार करोड १३ लाख लाग्ने अनुमान गरिएको छ । स्थानीय व्यापारी हीराकाजी महर्जनले मन्दिरका लागि आवश्यक इँटाको व्यवस्था गरेका थिए । माटोका लागि आवश्यक बजेटको व्यवस्था अर्का स्थानीय व्यापारी कल्याणजित ताम्राकारले गरेका थिए । मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले एक करोड, एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले एक करोड, इन्भेष्टमेन्ट बैंकले एक करोड सहयोग गरेको पनि मन्दिर पुनर्निर्माण सरोकार समितिले जनाएको छ ।

प्रतिक्रिया