पेरुमा पूरै शरीर डोरीले बाँधिएको १२ सय वर्ष पुरानो शव भेटियो

काठमाडौं । पेरूमा पुरातत्वविद्हरूले प्राचीन एक महिलाको शव फेला पारेका छन् । उक्त शव ८ सयदेखि १२ सय वर्ष पुरानो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
पूरै शरीर डोरीले बाँधेर गहिरो खाडलमा टुक्रुक्क पारेर राखिएको शवको प्रकृति हेर्दा जोकोहीको मनमा एक किसिमको त्रासको भावना हुन्छ । अनि बढीमात्रामा दयाको भाव पैदा हुन्छ , आँखा रसाउँछ ।
बीबीसीले राखेको भिडियोमा देखाइएअनुसार दुवै हातले अनुहार छोपेर डोरीले बाँधिएको शवको अवस्था छ । यस्तै खुँडादेखि तल डोरीले कसेर टुक्रुक्क बसाइएको दृष्य देख्न सकिन्छ । उनलाई गहिरो खाडलमा केही ठूला ढुंगाका टुक्रामाथि बसाइएको छ ।
पुरातात्विक स्थलमा पुरानो अस्तित्वको उत्खनन् गर्ने क्रममा महिलाको शव निकाल्न गहिरो खाडलमा भर्याङ प्रयोग गरिएको छ । महिलाको शव पेरुमा इन्का साम्राज्य सुरु हुनुभन्दा पहिलेको भएको अनुमान गरिएको छ । उक्त शवको छेउमा सडेका केही भाँडाकुँडा र बनस्पतिका टुक्राहरू पनि छन् ।
केही अनुसन्धानकर्ताहरूले यो शव कुनै कुलीन परिवारको महिलाको शव हुन सक्ने अनुमान गरेका छ्न । अर्कातिर कुनै स्थानीय चलनको अन्तिम संस्कार हुनसक्ने सान मार्कोस विश्वविद्यालयका प्राध्यापक पीटर भनको अनुमान छ । केहीले महिलालाई यातना दिएर ज्युँदै डोरीले बाँधेर गाडेर पनि आंकलन गरेका छन् ।
शव पेरुको लीमाभन्दा पूर्वमा अवस्थित पुरातात्विकस्थल काहामार्कियामा फेला परेको हो । कुनै पनि शव कतिवर्ष पूरानो हो भन्ने रेडियोकार्विन डेटिङ विधिबाट निर्णय गर्ने गरिन्छ ।
– बीबीसी
प्रतिक्रिया