आइतबार, जेठ ५, २०८२

चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्समा अमेरिका नजाने

नेपालखोज २०७८ मंसिर २१ गते ६:५५

काठमाडाैं । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ

चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो । तर उसले अमेरिकी खेलाडीहरू भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक्सको ‘उत्सव’ मा योगदान नगर्ने बताइन् ।

साकीले अमेरिकी सरकारले ‘यो क्षणका लागि प्रशिक्षण गरिरहेका खेलाडीहरूलाई दण्डित गर्नु सही कदम नहुने’ तर २०२२ का खेलहरूमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल नपठाउनुले ‘स्पष्ट सन्देश दिन सक्ने’ महसुस गरेको बताएकी छन् । अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलिम्पिक्स आयोजना गर्दैछ ।

चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई ‘नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्य’को सङ्ज्ञा दिँदै उक्त कार्य ‘चिनियाँ जनताविरुद्ध अपराध’ ठहरिने यसअघि नै बताइसकेको छ । बीबीसी

प्रतिक्रिया