प्रधानमन्त्री देउवा भन्छन्- द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउछाैं

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित ७३औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने बताए ।
उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिएको बताउँदै राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानव अधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगमा वर्तमान पदाधिकारी नियुक्तिपछि आयोगले सन् २०२१ देखि २०२६ सम्मका लागि रणनीतिक योजना निर्माण गरेको बताए ।
उनले उक्त योजनाले संघ, प्रदेश तथा स्थानीय तहमा मानव अधिकार संरक्षण तथा संवद्र्धनका लागि कार्य गर्न आयोगलाई दिशानिर्देश गरेको बताउँदै व्यवसाय र मानव अधिकार, जलवायु परिवर्तन र मानव अधिकार, भ्रष्टाचार र मानव अधिकार, दिगो विकास लक्ष्य र मानव अधिकार राष्ट्रिय कार्ययोजनाको अनुगमन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।
अध्यक्ष मगरले नेपालमा ३० प्रतिशत नागरिकमा मात्रै खोपको पहुँच पुगेको भन्दै सरकारले खोपको मात्रमा वृद्धि गर्दै सबै नागरिकको पहुँचमा पुर्याउनु पर्ने बताए । उनले भूकम्प तथा बाढी पीडितको पुनस्र्थापना र राहत कार्यक्रहरु वृद्धि गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने भन्दै भूकम्पले भत्काएको आयोगको भवन नबन्दा काम प्रभावित हुने गरेको गुनासोसमेत गरे ।
अध्यक्ष मगरले दिगो विकासका १७ वटा लक्ष्यहरु मानव अधिकारसँग सम्बन्धित भएकोले यसलाई जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न पनि आग्रह गरे । उनले मौलिक हकको कार्यान्वयन तथा मानव अधिकारसँग सम्बन्धित नीतिहरुको कार्यान्वयन अवस्थाको पनि समीक्षा गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष मगरले विदेशी कामदारको रुपमा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले यातनालगायत मानव अधिकारको उल्लंघनका घटनाबाट पीडित हुनुपरेको कुरा सार्वजनिक भइरहेको भन्दै विदेशस्थित कूटनीतिक नियोगहरुले यी कुराहरुमा चासो राख्नुपर्ने बताए ।
प्रतिक्रिया