शुक्रबार, असार २०, २०८२

बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु

नेपालखोज २०७८ मंसिर २८ गते १४:१२

बेलायत । बेलायतमा ओमिक्रोन भेरियन्टबाट पहिलो व्यक्तिको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्टका कारण अस्पतालमा भर्ना भएकाहरुमा एक बिरामीको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पुष्टि गरेका छन् ।

यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताएका थिए । उनले अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्न सक्ने चेतावनी दिएका छन् ।

युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ । बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् । उनले भने, ‘संक्रमणहरू प्रत्येक दुईदेखि तीन दिनमा दोब्बर हुँदै गइरहेको छ । यसको फैलावटको दर “हामीले पहिले कहिल्यै नदेखेको कुरा हो।’

बेलायतमा हिजो एक दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित देखा परेका छन् । यसैसँगै संक्रमित संख्या एक करोड ८७ लाख तीन हजार ४६८ जना पुगेको जारी गरिएको आधिकारिक तथ्यांकमा उल्लेख गरिएको छ । यसै अवधीमा कोरोनाभाइरस संक्रमणका कारण ३६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया