सोमबार, असार २३, २०८२

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि हुने

नेपालखोज २०७८ मंसिर २९ गते १३:५१

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ ।

निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । निर्वाचन समितिले मतगणना भोलिदेखि मात्रै हुने विभिन्न सञ्चारमाध्यमलाई जानकारीसमेत दिएको थियो । उम्मेद्‌वार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना सुरु गर्न निर्वाचन समिति सहमत भएको हो ।

पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । सोमबार नै निर्वाचन सकिएपछि पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । आचारसंहितालगायत विषयमा छलफल एवं निर्णयपछि मतगणना सुरु हुनेछ ।

पहिलो चरणमा सभापति पदको मतगणना गएराति सम्पन्न भएको थियो । सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मंगलबार दिउँसोदेखि बढी मत पाउने शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीसमेत रहेका देउवा पार्टी सभापतिमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया