फिलिपिन्समा शक्तिशाली आँधी : लाखौं विस्थापित, १२ को मृत्यु

मनिला । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् । दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले त्यहाँको जनजीवन तहसनहस बनाएको छ । मानिसहरू बिदा मनाउन पुग्ने पर्यटकीय सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित आएको राई समुद्री आँधीसँगै भारी वर्षा पनि भएको छ । तीव्र गतिको आँधीले बाटोमा परेका घरहरू ढल्दा लाखौँ मानिसहरू विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसंघले एक करोड ३० लाख मानिस प्रभावित भएको जनाएको छ । शुक्रबारसम्म १२ जनाको मृत्यु पुष्टि भएको बीबीसीले जनाएको छ । सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् भने बिजुलीका तार र खम्बाहरू ढलेका छन् । जताततै बाढी आएपछि हजारौँ मानिस घर छाडेर सुरक्षित स्थलमा आश्रय लिइरहेको बताइएको छ । अधिकारीहरूले विमानस्थलको प्रमुख टर्मिनलमा क्षति पुगे पनि धावनमार्ग उद्धार उडानहरूका लागि नियमित सञ्चालन भइरहेको जनाएका छन् ।
सामाजिक सन्जालमा फैलिएका भिडियोहरूले फिलिपिन्सको दोस्रो ठूलो सहर सेबुमा हुरीले ठूलो क्षति पुर्याएको देखाएका छन् । सिरगाओ पश्चिमको सुरिगाओ सहरका मेयरले टाइफुनको प्रभावलाई गम्भीर भनेका छन् । फिलिपिन्समा बारम्बार शक्तिशाली आँधी आउने गरेको छ । यो देशमा वर्षमा औसत २० आँधी आउने गरेका छन् ।
सन् २०२० को नोभेम्बरमा समुद्री आँधी गोनीले आफ्नो मार्गमा मानवीय क्षति र विनाश निम्त्याएको थियो । सन् २०१३ मा ६,००० मानिसहरूको ज्यान जाने गरी आएको हैयान समुद्री आँधीपछि त्यो सबैभन्दा ठूलो आँधी भएको बताइएको छ ।
प्रतिक्रिया