शुक्रबार, पुष ११, २०८२

नेपालका निजी क्षेत्रबाट उत्पादित बिजुली खरिद गर्ने सम्झौताको तयारीमा बंगलादेश !

नेपालखोज २०७८ पुष ३ गते १०:३३

काठमाडौं । बंगलादेशले नेपालका निजी विद्युत उत्पादकहरूसँग पनि विद्युत खरिद गर्ने सम्झौता गर्ने तयारी गरेको छ । बिजुली किन्नका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अन्तर्गतको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) सँग दीर्घकालीन विद्युत खरिद् सम्झौता (पीपीए) गर्न बंगलादेश तयार रहेको इप्पानका उपाध्यक्ष मोहन डाँगीले बताएका छन् ।

बंगलादेशका ऊर्जा राज्यमन्त्री नसल हमिदले नेपाल उद्योग परिसंघ (सीएनआइ) का पदाधिकारी एवं सदस्यहरूसँगको भेटमा आगामी ५ वर्षमा वार्षिक ३५ मेगावाट विद्युत खरिद् गर्ने बताएका हुन् । नेपालमा खेर गइरहेको विद्युत व्यवस्थापन र व्यावसायिक विद्युत उत्पादनका लागि यो महत्त्वपूर्ण भएको जनाइएको छ ।

भारतले यसै वर्षको सु?वातमा अन्तर्देशीय विद्युत व्यापार सम्बन्धी कार्यविधि जारी गरेपछि बंगलादेशलाई विद्युत बिक्री सहज बनेको इप्पानका उपाध्यक्ष डाँगी बताउँछन् । नेपेक्समार्फत विद्युत बेच्ने भनिए पनि हालसम्म नेपालमा निजी क्षेत्रले विद्युत बिक्री वितरणको अनुमति पाएको छैन । इप्पानले ऊर्जा मन्त्रालयसँग अनुमति माग गरेको उपाध्यक्ष डाँगीले प्रष्ट पारेका छन् । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार इप्पानको प्रस्तावमाथि समीक्षा भइरहेको छ ।

संसादमा रहेको नयाँ विद्युत ऐनको विधेयक पारित भएमा भने बंगलादेशले निजी क्षेत्रसँग पनि विद्युत किन्न सक्ने बाटो खुल्ने छ । तर तत्काललाई पर्याप्त कानुन नभएकाले कसले अनुमति दिने, कुन निकायले हेर्ने र कसरी व्यवस्थापन गर्ने भन्नेबारे टुंगो लाग्न समय लाग्ने डाँगीले जनाएका छन् ।

विद्युत खरिद तथा बिक्रीका लागि निजी क्षेत्रले अनुमति पाए नेपाल विद्युत प्राधिकरणको मात्र भर पर्नु नपर्ने र उत्पादित विद्युत खेर नजाने इप्पानका उपाध्यक्ष डाँगीको दाबी छ । यस वर्ष वर्षायाममा दैनिक ६ देखि ७ सय मेगावाट बिजुली खेर गएको ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएपछि उत्पादित बिजुली खपत र व्यवस्थापनमा कठिनाइ भएको छ । – बीबीसी

प्रतिक्रिया