आइतबार, वैशाख १४, २०८२

हङकङमा रहेको तिआनानमेन स्क्वायर नरसंहारको सम्झनामा स्थापित मूर्ति हटाइयो

नेपालखोज २०७८ पुष ८ गते ७:३६

काठमाडाैं । चीनको बेइजिङस्थित तिआनानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा युनिभर्सिटी अफ हङकङमा स्थापना गरिएको एउटा प्रख्यात प्रतिमा हटाइएको छ । आठ फिट अग्लो तामाको उक्त प्रतिमा हटाउनका लागि प्लास्टिकले उक्त क्षेत्र छोपेर रातभर कामदारहरू खटिएका थिए ।

‘द पीलर अफ सेम’ भनिने उक्त मूर्तिमा सन् १९८९ मा चिनियाँ अधिकारीहरूले हत्या गरेका प्रजातन्त्र पक्षधर समर्थकहरूको सम्झनामा लासको थुप्रो देखाइएको छ । विश्वविद्यालयले गत अक्टोबर महिनामा उक्त मूर्ति हटाउन निर्देशन दिएको थियो ।

अधिकारीहरूले बुधवार त्यो मूर्ति हटाउने निर्णय गरेको युनिभर्सिटी अफ हङकङले जनाएको छ । ‘विश्वविद्यालयको सर्वोत्तम हितको लागि पुरानो मूर्तिबारे निर्णय बाहिरी कानुनी सल्लाह र जोखिम मूल्याङ्कनमा आधारित थियो,’ एक विज्ञप्तिमा भनिएको छ ।

‘विश्वविद्यालय कमजोर मूर्तिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा समस्याहरूको बारेमा पनि निकै चिन्तित छ ।’ डेनमार्कका मूर्तिकारले बनाएको सो प्रतिमा उक्त विश्वविद्यालयमा २४ वर्षदेखि राखिएको थियो ।

विश्वविद्यालयका अधिकारीहरूले मूर्ति स्थापना गरिएको क्षेत्रलाई प्लास्टिकले बारेसँगै बुधवार अबेर उक्त प्रतिमा हटाउन लागिएको पहिलो सङ्केत प्राप्त भएको थियो ।

सुरक्षामा खटिएका कर्मचारीहरूले सञ्चारकर्मीहरूलाई उक्त स्थानसम्म पुग्नमा रोक लगाएका थिए र त्यो दृश्य कैद गर्नमा पनि रोक लगाउने प्रयास गरेका थिए ।

विश्वविद्यालयले त्यो मूर्ति आफ्नो गोदाममा राख्ने जनाएको छ । सन् १९८९ मा बेइजिङको तिआनानमेन स्क्वायरमा चिनियाँ सुरक्षा फौजले सयौं प्रदर्शनकारीहरूको हत्या गरेका थिए । बीबीसी

प्रतिक्रिया