अमेरिकामा आइसोलेसनमा बस्ने अवधि आधाले घटाइयो

काठमाडाैं । अमेरिकाले लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितले एक्लिएर बिताउनुपर्ने अवधिलाई दश दिनबाट घटाएर पाँच दिन कायम गरेको छ । सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिन मास्क लगाउन सुझाव दिएको छ ।
अहिलेका नयाँ सुझावहरू बाध्यकारी छैनन्, तर त्यसलाई अमेरिकाका कैयौँ व्यापारिक समुदाय र नीति निर्माताहरूले नजिकबाट हेरिरहेका छन् । कोभिड संक्रमणमा वृद्धि भएर अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा आएको हो ।
ओमिक्रोन भेरिअन्टले अस्पतालमा भिडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति बाइडनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाएका छन् ।
सीडीसीले विज्ञानमा आधारित रहेरै अहिलेको परिवर्तन सिफारिस गरिएको भन्दै अधिकांश सङ्क्रमण प्रारम्भिक अवस्थाका बिरामीबाट सर्ने गरेको बताएको छ ।
उसले कोभिड सङ्क्रमण भएका तर खोप नलगाएका वा बुस्टर खोप लगाउन बाँकी रहेका व्यक्तिहरूबारेका आफ्ना सुझावलाई पनि अद्यावधिक गरेको छ ।
यस्ता समूहहरूले पाँच दिन क्वारन्टीनमा बस्नुपर्ने र अर्को पाँच दिन कडाइपूर्वक मास्क प्रयोग गर्नुपर्ने उसको भनाइ छ । बुस्टर खोप लगाएका व्यक्तिहरूले सङ्क्रमितसँग सम्पर्कमा पुगेपनि क्वारन्टीनमा बस्नुनपर्ने तर निरन्तर १० दिन मास्क लगाउनुपर्ने सुझावमा उल्लेख छ । बीबीसी
प्रतिक्रिया