कोरोना पोजेटिभ देखिएपछि विमानको शौचालयमा ५ घण्टा !

काठमाडौं । कोरोना पोजेटिभ प्रमाणित भएपछि अमेरिकाको एक विद्यालयकी शिक्षिका पाँच घण्टा विमानको शौचालयभित्र सेल्फ आइसोलेसनमा बसेकी छन् ।
विमानमा यात्रारत यात्रु मारिसा फोसियोले आफैंले यस्तो निर्णय गरेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएकी छन् । मारिसो सिकागोबाट आइसल्यान्डको उडानको क्रममा थिइन् । विमानमा उनले घाँटी दुखेको महसुस गरिन् । उनीसँग र्यापिड टेस्ट किट थियो, त्यसैले उनले विमानमै आफैं कोरोना परीक्षण गरिन् ।
मारिसामा कोराना पोजेटिभ देखियो । त्यसपछि उनले आफूलाई आइसोलेसनमा राख्ने निर्णय गरिन् । शौचालयमा बसेर बाँकी पाँच घण्टाको यात्रा पूरा गरिन् । आइसोलसनमा रहेका बेला विमान परिचरले उनलाई खाना र पेय पदार्थ दिएका थिए ।
यात्रु मारिसा भन्छिन्, ‘यो एक पागल अनुभव थियो । विमानमा १५० जना थिए र मलाई सबैभन्दा ठूलो डर उनीहरूलाई पनि संक्रमण हुन सक्छ कि भन्ने थियो ।’
मारिसाले आइसल्यान्ड एयरको विमानको शौचालयबाट टिकटकमा भिडियो पनि पोस्ट गरेकी छन् । उनले सहयोग गर्ने एक उडान परिचरको प्रशंसा पनि गरेकी छन् ।
परिचरले बारम्बार आफ्नो स्वास्थ्यबारे सोधेको भन्दै प्रसंशा गरेकी छन् । आइसल्यान्डमा अवतरण गरेपछि मारिसा रेडक्रसको आइसोलेसनमा बसेकी छन् ।
प्रतिक्रिया