शुक्रबार, पुष ११, २०८२

परनिर्भरता बढ्दै : झन्डै ७ अर्बको मकैको बीउ आयात

नेपालखोज २०७८ पुष १६ गते १२:५५

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बिउ आयात भएका छन् । मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकैका बिउ आयात भएका हुन् ।

एक हजार किलोग्राम बराबर एक टन हुन्छ । केही वर्षदेखि मकैको बीउको आयात बढ्दै गएको तथ्याङ्क छ । मकैका बिउमा परनिर्भरता बढ्दै जान थालेपछि बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बालीविज्ञ एवं सूचना अधिकारी प्रकाश आचार्यले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा बिउको आयात बढेकोमा चिन्ता व्यक्त गरे । मकैको मूल बिउ अर्थात् प्रजनन बिउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र उन्नत बिउको उत्पादन निजी तथा सामुदायिक क्षेत्रमा हुने गरेका थिए ।

मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारबीच समन्वय र सहकार्य हुन नसकेकाले सामुदायिक क्षेत्रमा उन्नत जात (हाइब्रिड) मकैका बीउ उत्पादन हुन लगभग बन्द भएकाले बिउमा परनिर्भरता ह्वात्तै बढेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्जेनटिन, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट रु छ अर्ब ९१ करोड ९८ लाख ६६ हजार मूल्य बराबरका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् ।

तीमध्ये सबैभन्दा बढी भारतबाट रु छ अर्ब २५ करोड ५७ लाख चार हजार मूल्य बराबरका १८ करोड ५५ लाख ८५ हजार ९५० किलोग्राम मकैको बीउ आयात भएको छ । त्यसपछि सबैभन्दा बढी मकैको बिउ आयात हुने मुलुकमा अर्जेनटिना हो । सोही अवधिमा सो मुलुकबाट रु ६५ करोड ४१ लाख ३४ हजार मूल्य बराबरका ७७ लाख ३२ हजार ५० केजी मकैका बिउ आयात भएको छ ।

तेस्रो मकैको बिउ आयात हुने मुलुकमा दक्षिण अफ्रिका पर्छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सो मुलुकबाट रु १० करोड ९७ लाख ७० हजार मूल्य बराबरका १२ लाख ७४ हजार केजी मकैको बिउ आयात भएको छ । यसैगरी सो अवधिमा ब्राजिलबाट सात लाख ९२ हजार २४० केजी, टर्कीबाट तीन लाख ४५ हजार केजी, अमेरिकाबाट तीन लाख आठ हजार ४२० केजी र क्यानडाबाट सात हजार ८०० केजी मकैको बीउ आयात भएको भन्सार विभागले जनाएको छ ।

आयात भएको मकैको बीउ खरिद गर्दा नेपालले ब्राजिललाई रु छ करोड ४३ लाख ७० हजार, टर्की र अमेरिकालाई रु दुइ करोड ९६ लाख ९७ हजार र क्यानडालाई रु ६६ लाख २४ हजार भुक्तानी दिनुपरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मकैको बीउ आयातबाट राज्यले रु ३७ करोड चार लाख ४२ हजार भन्सार असुली गरेको छ ।

नेपालीका प्रमुख आहार धान पछि मकै हो । पहाडी क्षेत्रमा बसोबास गर्ने अधिकांश ग्रामीण जनताको दैनिक खाद्यान्न बाली मकै हो । मकैको बिउ आयातले स्थानीय जातको लोकल बीउलाई बहुर्राष्ट्रिय कम्पनीका बहुजातीय बीउले विस्थापित गर्ने सम्भावना बढेर गएको छ । मकैबाट पिठो बनाएर ढिडो, रोटी, पुवा एवं अन्य परिकार खाने चलन छ ।

मकै पोलेर, उसिनेर र कलिलो मकै तरकारी बनाएर खाने चलन छ तर, पछिल्लो समय पशुपन्छीको दाना बनाउन मकै धेरै प्रयोग हुन थालेको छ । नेपालले वार्षिक झण्डै पशुपन्छीको दानाको लागि चार लाख मेट्रिक टन मकै आयात गर्दै आएको छ । किसानले सहजरुपमा अझैसम्म गुणस्तरीय बीउ पाउन सकेका छैनन् ।

उनीहरुले उन्नत जातका बीउ सरलरुपमा प्राप्त गर्ने हो भने उत्पादन बढाउन सकिने विभिन्न अनुसन्धानले देखाएको छ । पछिल्लोपटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मकै उत्पादनलाई प्राथमिकता दिएको छ ।

यो परियोजना आर्थिक वर्ष २०७४÷०७५ बाट सुरु भएको हो । नेपालमा झण्डै नौ लाख हेक्टर जमीनमा मकै खेती गरिन्छ । उच्च पहाडमा ११, मध्य पहाडमा ७१ र तराईमा १८ प्रतिशत जमिनमा मकै खेती गरिन्छ । नेपालमा मकैको उत्पादन झण्डै २२ लाख मेट्रिक टन छ ।

प्रतिक्रिया