शनिबार, जेठ ४, २०८२

पन्जाबको ‘फ्लाई ओभर’मा २० मिनेट रोकिए मोदी, यस्तो छ कारण !

नेपालखोज २०७८ पुष २२ गते ९:०३

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रदर्शनकारीहरूका कारण पञ्जावको फ्लाई ओभरमा २० मिनेट रोकिएपछि उनको सुरक्षा व्यवस्थामा त्रुटि भएको बताइएको छ । उत्तरी राज्यको एउटा स्मारकमा जाँदै गरेका मोदी किसानहरूको प्रदर्शनका कारणबीच बाटोमै रोकिनुपरेको थियो ।

किसानहरूको मृत्युमा एक जना मन्त्रीका छोरा आरोपित भएपछि ती मन्त्रीको राजीनामा माग गर्दै किसानहरूले प्रदर्शन गरिरहेका थिए । ‘यो प्रधानमन्त्रीको सुरक्षामा प्रमुख कमजोरी हो,’ भारतको केन्द्रीय गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मोदीले राज्य विधान सभाको चुनावी सभालाई फिरोजपुरमा सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो ।

तर सुरक्षा कमजोरीका कारण प्रधानमन्त्री मोदी बीच बाटोबाटै विमानस्थल फर्किएको गृह मन्त्रालयले जनाएको छ । प्रदर्शनकारीहरूले कनिष्ठ गृहमन्त्री अजय मिश्रको राजीनामा माग गरिरहेका थिए । उनका छोरा गत अक्टोबरमा आठ जनाको ज्यान जाने गरी भएको एउटा घटनामा आरोपित छन् ।

मिश्रसँग सम्बन्धित एउटा कार उत्तर प्रदेश राज्यमा प्रदर्शन गरिरहेका किसानहरूमाथि जोतिँदा चारजनाको मृत्यु भएको थियो । किसानहरूले घटनामा मन्त्रीका छोरा अनिश मिश्रको हात रहेको आरोप लगाए पनि मिश्रले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

प्रधानमन्त्री मोदी बुधबार बिहान बठिँडा विमानस्थलमा पुगेका थिए । उनी त्यसपछि राष्ट्रिय सहिद स्मारक र चुनावी सभामा हेलिकोप्टरमार्फत जाने भनिएको थियो ।

मौसमका कारण उडान हुन नसकेपछि उनी सडक मार्ग हुँदै अघि बढेका थिए । तर उनी स्मारक भन्दा ३० किलोमिटर वरै प्रदर्शनका कारण रोकिनु परेको थियो ।

गृह मन्त्रालयले गम्भीर सुरक्षा त्रुटिबारे पञ्जाब सरकारसँग विस्तृत विवरणहरू माग गरिएको जनाएको छ । ‘सुरक्षा कार्यविधि अनुसार उनीहरूले आवश्यक सुरक्षा र सामग्रीको प्रबन्ध सहित आकस्मिक वैकल्पिक योजना पनि तयारी गर्नुपर्थ्यो,’ मन्त्रालयले भनेको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले ट्विट गर्दै घटनालाई लापरबाही भन्दै दोषीलाई जबाफदेही बनाइने बताएका छन् । मोदीको भारतीय जनता पार्टीका एक नेताले पञ्जावको कांग्रेसको सरकारलाई प्रधानमन्त्रीको कार्यक्रममा अवरोध पुर्‍याएको आरोप लगाएका छन् । बीबीसी

प्रतिक्रिया