मंगलबार, वैशाख १८, २०८१

एउटा अन्डा फुट्यो, फुट्यो !

आचार्य प्रभा २०७८ पुष २४ गते १०:५७

भीमा एकटकसँग हेरिरहन्छे । सासूले नयाँ देउरानीलाई पूजाथान अघि पूजा गरिरहेकी। सासू भन्दै “हुन्छिन् लौ ! मेरो छोरोको जिन्दगीमा आउँन तेरो पुर्पुरोमा लेखेको रहेछ । विदेशी भए नि के भो ? राम्रोसँग तिमीहरूको जिन्दगी चलोस् । राम्रोसँग गरिखानु । मेरो आशिर्वाद सधैं लागोस्”

विदेशी बुहारी भाषा नबुझेर ट्वाल्ल पर्छे । छोरा चाहिँले अर्थ बुझाउँछ । अर्थ बुझेपछि ऊ मन्द मुस्कानका साथ गजक्क पर्छे।

भीमा अतित सम्झिन्छे । विगतमा आफू उक्त घरमा भित्रिँदा सासूले हातमा समातेर ‘शरम पचेकी लाज छैन । कहाँकी मगन्तेकी छोरी ? जातभात मिल्नु छैन । जाओ निस्केर तिमेरू । एउटा अण्डा फुट्यो,फुट्यो ।’ भन्दै निकालेकी ।

भीमा उस्को श्रीमानसँगै निस्केकी थिइ त्यो समय तर आज विदेशी बुहारीको स्वागतमा उही सासूले दहीको सगुन खुवाउँदै आशिर्वाद दिइेरहेकी छिन् ।

यस्तो विभेदपूर्ण व्यवहारले ऊ अचम्भित बन्छे। कस्तो, अचम्म ? एउटै कोखका छोराहरूमा पनि भेदभाव ? हामीले जसरी प्रेम विवाह गर्‍यौं, उनीहरूले पनि उसरी गरेका हुन् ,अझै ऊ त कहाँ पराई देशकी ? म नेपाली नै भए पनि पराईलाई झैँ व्यवहार गरियो । मेरो श्रीमान् पनि उही कोखबाट जन्मिए पनि उस्लाई भने आशिर्वादको सट्टामा श्राप दिइेयो । के आमाको धर्म त्यही हो ?

यस्तै सोचमा भीमा मग्न हुन्छे । अचानक सासुको आवाज आउँछ ‘ए,जेठी खाना पाक्यो? भोकाए होलान् यिनीहरू ।’

खाना खाइेरहेको छेउमा उभिएर आमा भन्न थाल्छिन् । ‘किसन अब खाना खाइेसकेपछि बुहारीलाई पूजाआजा गर्नेबारे अर्थ्या। अब यसैले गर्नुपर्छ घरको पूजाआजा ।’

आमाको कुरा सुनेर छोरोले जवाफ दिन्छ । ‘आमा कहाँ यस्ले अब पूजा गर्छे र ? यो त क्रिश्चियन हो । यिनीहरूलाई हिन्दु धर्मको पूजापाठ, फूल अक्षेता मन पर्दैन । हजुरले टिका लगाइएर टाउकामा फूल राखिदिँदा नै न्याउरो मुख पार्दै थिइ।’

छोरोको जवाफले आमा बिचलित बन्छिन् र पुलुक्क जेठी बुहारीलाई हेर्छिन् । आफूले अतितमा ती छोरा बुहारीलाई गाली, श्राप दिँदै घच्याटेर निकालेको सम्झिदै ।

आमाको निरीह मुहार देखेर कान्छो छोरोले सोध्छ । ‘आमा के भो ? चिन्ता नलिनुहोस् । हामी हजुरहरूसँग साथै बस्ने होइनौं, केही दिनपछि इटली फर्किहाल्छौं । आखिर सबै भाउजूले गर्नु भएकै छ नि ! सधैँ साथै बस्ने दाजु,भाउजू नै हुनुहुन्छ । हामी त दुईदिने पाहुना ।’

कान्छो छोराको कुरा सुनेर आमा खंग्रङ्ग पर्छिन् र सम्झीन्छिन् “एउटा अण्डा फुट्यो,फुट्यो” भन्दै जेठो छोरो बुहारीलाई निकालेको ।

प्रतिक्रिया