शनिबार, जेठ ४, २०८२

भारतमा एक लाखभन्दा बढी संक्रमित थपिए, ओमिक्रोन संक्रमितकाे संख्या ३ हजार नाघ्यो

नेपालखोज २०७८ पुष २३ गते १३:१०

नयाँ दिल्ली । भारतमा गत चाैबीस घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् ।

हाल यहाँ तीन हजार ७ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार १९९ जना भने कोरोना मुक्त भएका जनाइएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ७१ हजार ३६३ रहेका छन् । गएको २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन् ।

यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९७.५७ प्रतिशत रहेको जनाइएको छ । सोही अवधिमा थप ३०२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार १७८ छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ६८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।

यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४९ करोड ६६ लाख ८१ हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । रासस/एएनआई

प्रतिक्रिया