शनिबार, जेठ ४, २०८२

लुटेराको समूहले पछिल्लो एकसातामा नाइजेरियामा १४३ जनाको हत्या

नेपालखोज २०७८ पुष २५ गते ६:३९

कानो । बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको हत्या गरेको दाबी गरिएको छ । लुटेराहरुको समूहले पछिल्लो एक साताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ ।

घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी रहेको समाचारमा जनाइएको छ । तर स्थानीय एक नेताले भने लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन् ।

उनले भने, ‘लडाकू समूहले १४३ जनाको हत्या गरेको छ, उनीहरुले आम नागरिकमाथी हिंसात्मक आक्रमण गरेका थिए ।’ आक्रमणकारी सयौँ लडाकूहरु मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् । उनीहरुले १० गाउँमा आक्रमण गरेका हुन् ।

आक्रमणकारीहरुले घर घरमै गएर गोली प्रहार गर्ने, लुटपाट गर्ने गरेको स्थानीयको भनाइ छ । घटनाका बारेमा सरकारी सुरक्षाकर्मीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया र सूचना दिइएको छैन ।

नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरुसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ । सरकारले उनीहरुलाई आतङ्वादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ तर अपेक्षित सुधार भने हुन सकेको छैन । रासस/एएफपी

प्रतिक्रिया