शनिबार, जेठ ४, २०८२

ओमिक्रोनपछि आएका ‘फ्लोरोना’ र ‘डेल्टाक्रोन’ कति खतरनाक ?

नेपालखोज २०७८ पुष २७ गते २०:२४

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले सारा संसारलाई आफ्नो चपेटामा लिन थालेको छ । ओमिक्रोन निकै तीव्र गतिमा फैलिने हुँदा अहिले प्रतिदिन संक्रमितहरुको नयाँ रेकर्ड बनिरहेको छ । यसबीच कोरोना भाइरसको पुरानो डेल्टा भेरियन्टले पनि मानिसहरुलाइ संक्रमित गरिरहेको छ । डेल्टा भेरियन्ट कोभिड महामारीक‍ो दोस्रो विनाशकारी लहरका लागि जिम्मेवार मानिन्छ ।

अर्कातिर, विश्व स्वास्थ्य संगठनले के भनिरहेक‍ो छ भने ओमिक्र‍ोन भेरियन्टले चाँडै कोरोनाका अन्य पुराना भेरियन्टलाई पछाडि पार्नेछ । भन्नुको अर्थ के भने अब बढी भन्दा बढी मानिस ओमिक्रोनले संक्रमित हुनेछन् ।

यसबीच कोरोना भाइरसका केही नयाँ भेरियन्टका नाम पनि चर्चामा छन् जस्तो : ‘डेल्मिक्रोन’, ‘फ्लोरोना’ तथा ‘डेल्टाक्रोन’ । भनिन्छ डेल्मिक्रोन र फ्लोरोना कोरोनाका दुई अलग-अलग भाइरसको संक्रमणबाट निर्माण भएका हुन् भने डेल्टाक्रोन कोरोना भाइरसको नयाँ संक्रमण हो । अन्तर्राष्ट्रिय मिडियामा के पनि आइरहेको छ भने ‘डेल्मिक्रोन’, ‘फ्लोरोना’ र ‘डेल्टाक्रोन’ निकै घातक छन् । यद्यपि विश्व स्वास्थ्य संगठनलगायत कुनै पनि ठूला स्वास्थ संगठनले यो विषयमा केही बताएका छैनन् । कतिपय स्वास्थ्य विशेषज्ञले कोरोनासँग जोडिएर आएका यस्ता शब्दसँग डराउनु पर्ने कुनै कारण छैन ।

डेल्मिक्रोन र फ्लोरोनाको कुरा ?
भनिन्छ अहिले युरोप र अमेरिकामा आएको कोरोनाको सुनामीका लागि डेल्मिक्रोन जिम्मेवार छ । डेल्मिक्रोन वास्तवमा कोरोना भाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट मानव शरीरमा एकसाथ एकसाथ देखा पर्नु हो । त्यसैले जहाँ डेल्टा भेरियन्टको प्रकोप देखिएको थियो त्यहाँ अब ओमिक्रोनको प्रवेशपछि कस्तो प्रतिक्रिया आउँछ वा भाइरसको व्यवहार कस्तो हुन्छ भन्ने कुरामा धेरै कुरा निर्भर गर्छ ।

डेल्मिक्रोनपछि इजरायलबाट फ्लोरोनाको कुरा पनि आएको छ । इजरायली पत्रिका ‘एडिओथ अरोनोथ’ ले यो जनवरीको सुरुमै एक गर्भवती फ्लोरोनाले ग्रसित भएको खबर छापेको थियो । उक्त अखबारले एक स्वास्थ्य विशेषज्ञलाई उद्धृत गर्दै फ्लोराना फ्लु अथवा इनफ्लुएन्जा भाइरस र कोरोना भाइरस एउटै समयमा शरीरमा पाइनु भएको कुरासमेत उल्लेख गरेको थियो । यो कोरोना भाइरसको नयाँ भेरियन्ट भने होइन । रिपोर्टअनुसार इजरायलमा अहिले कोरोना भाइरससँगै फ्लुका बिरामीहरु पनि बढेका छन् भने एउटै व्यक्तिमा कोरोनाका साथ फ्लुको संक्रमणसमेत पाइएको छ ।

अर्कातिर साइप्रसमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ को पहिचान गरिएको कुरा पनि सार्वजनिक भएको छ । साइप्रसस्थित बायोलोजिकल साइन्सेजका एक प्रोफेसरले यो नयाँ भेरियन्टको खोजी गरेको दाबी गरेका छन् । ती प्रोफेसरका अनुसार यो नयाँ भेरियन्टमा कोरोना भाइरसका ओमिक्रोन र डेल्टा दुवै भेरियन्टको फिचर विद्यमान छ । यद्यपि यो नयाँ भेरियन्ट ओमिक्रोनको अगाडि हावी हुन सक्ने स्थिति भने नभएको बताइएको छ ।

अमेरिकामा कार्यरत पब्लिक हेल्थ विज्ञ डा. फहिम युनुसले यस विषयमा एक ट्विट गर्दै लेखेका छन्- मानिसहरुमा डर र भ्रम फैलाउने काम भइरहेको छ । मिडियाका मानिसहरुले आफ्नो समाचारतर्फ ध्यानाकर्षण गर्न डेल्टाक्रोन र फ्लोरोनाजस्ता शब्द जन्माएका छन् जसको कुनै अस्तित्व नै छैन । कुनै एक व्यक्तिको शरीरमा दुई प्रकारको भाइरसको संक्रमण एकसाथ हुनु कुनै नौलो र अचम्मको कुरा होइन । यो त महामारीलाई बिजनेसमा बदल्ने रोगी मानसिकताको उपज मात्र हो ।

यसबीच केही भाइरोलोजिस्टहरुले डेल्टाक्रोन कोरोना भाइरसको नयाँ भेरियन्ट नभएको जानकारी दिएका छन् । उनीहरुका अनुसार डेल्टाक्रोन भाइरसको दोहोरो संक्रमण अर्थात् एकसाथ दुई किसिमका भाइरसको संक्रमण मात्र हो र यो जो कसैलाई हुन सक्छ । अहिले यसबाट आत्तिने वा डराउने कुनै कारण छैन ।

प्रतिक्रिया