शनिबार, जेठ ४, २०८२

हिरो इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

नेपालखोज २०७८ माघ ३ गते १७:२६

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी प्रा.लि.(लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ । काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत बिक्रीवितरण भइरहेको छ ।

इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिकता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्रीबितरण प्रारम्भ गरेको कम्पनीले जनाएको छ । नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छ । एक पटक फुल चार्ज गरी ८२ किलोमिटरदेखि १६५ किलोमिटरसम्मको रेन्ज दिने स्कुटरले भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि बजार लिने अपेक्षा गरिएको छ । भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडल समेत क्रमशःउपलब्ध गराउँदै ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

लक्ष्मी ई मोबिलिटी प्रा.लि. ले काठमाडौंको टेकुमा सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीले देशभरका इच्छुक पक्षबाट डिलरशिपका लागि समेत आवेदन लिँदैछ । हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहकहरु रहेको जनाइएको छ । हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको बताइएको छ ।

प्रतिक्रिया