बाइडेन भन्छन्- पुटिनले युक्रेनमा हस्तक्षेप चाहे पनि पूर्ण आकारको युद्ध चाहेका छैनन्

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ‘हस्तक्षेप गर्न चाहे पनि पूर्ण आकारको युद्ध नचाहेको’ आफूलाई लागेको बताएका छन् ।
रुसी हमलाको चिन्ताबारे एक पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा बाइडेनले भने, ‘मेरो अनुमानमा उनी अगाडि बढ्छन् । उनले केही गर्नुपर्नेछ ।’ तर बाइडेनले पश्चिमा विश्वको ‘परीक्षा’ लिन चाहेका रुसी नेताले त्यसको ‘गम्भीर मूल्य चुकाउनुपर्ने’ भन्दै चेतावनी दिएका छन् ।
बाइडेनको भनाइपछि पत्रकारहरूले के त्यसोभए अमेरिकाले एउटा सानो हमला स्वीकार्छ भन्ने जिज्ञासा राखेका थिए । ह्वाइटहाउसले त्यसबारे आफ्नो अडान स्पष्ट पार्न पछि एउटा विज्ञप्ति जारी गर्यो ।
जसमा ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन साकीले भनेकी छन्, ‘यदि रुसी सेना युक्रेनभित्र पसे भने त्यो नयाँ हस्तक्षेप हुनेछ र अमेरिका र उसका साझेदारबाट तत्काल, कडा र एकीकृत जवाफ पाउनेछ ।’
बाइडेनले युक्रेनमाथि हमला भएमा रुसमाथि अहिलेसम्मै नदेखिएको प्रतिबन्ध लगाइने बताएका छन् । पद सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बाइडनले आफ्नो छिमेकीमाथि रुसी हमला भएमा त्यसको नतिजा सम्हाल्न नसकिने द्वन्द्वका रूपमा हुने चिन्ता रहेको बताए ।
मस्कोले भने हस्तक्षेप अथवा हमलाको तयारी गरिराखेको भन्ने अमेरिकी भनाइलाई अस्वीकार गरेको छ । तर उसले युक्रेनतर्फको सीमामा १ लाखजति सङ्ख्यामा सेना तैनाथ गरेको छ ।
रुसले पश्चिमा सरकारहरूसँग प्रस्तुत गरेका कयौँ मागमा युक्रेन कहिल्यै नेटोमा नजोडियोस् र उक्त रक्षा गठबन्धनका सैन्य गतिविधि सदस्य देशभित्रै सीमित रहुन् भन्ने छ ।
युक्रेन भ्रमण र बर्लिनमा युरोपेली साझेदारसँग भेटेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले शुक्रवार आफ्ना रुसी समकक्षी सर्गेई ल्याभरोभलाई जिनिभामा भेट्दैछन् । बीबीसी
प्रतिक्रिया