आइतबार, वैशाख १४, २०८२

डुबायो पब्जीले, रिसको झोंकमा परिवारै सखाप !

नेपालखोज २०७८ माघ १६ गते २०:४६

लाहोर । संसारमा भइरहेको प्रविधिको तीव्र विकासले मानव सभ्यतामा समस्यासमेत सिर्जना गर्दै आएको छ । प्रविधिमा आएको सुधार र नयाँ-नयाँ आविष्कारले मानव समाजलाई निकै अगाडि बढाइसकेको छ ।

यद्यपि, कहिलेकाहीँ यही प्रविधिका कारण हामीले दुःखद् स्थितिको पनि सामना गर्नुपरेको छ । आज जसरी मोबाइल फोनको विकास एवं सुधार हुँदै छ, त्यसैगरी युवाहरुमा यसप्रतिको लगाव पनि बढ्दै गएको छ । मोबाइल फोनमा भिडियो गेम खेल्ने चलनले युवाहरुमा अनेकन समस्या बल्झिँदै छन् ।

कुरा पाकिस्तानको पन्जाब प्रान्तको हो, जहाँ अनलाइन गेम पब्जीका कारण एक किशोरले आफ्नो परिवारै सखाप पारेको छ । भनिन्छ, ती १४ वर्षीय किशोर अक्सर मोबाइलमा पब्जी खेल्न व्यस्त रहन्थे । स्थानीय प्रहरीका अनुसार बढी समय पब्जी खेलेर बिताउने ती किशोरलाई उनकी आमाले गेम नखेल्न र पढाइमा ध्यान दिन भन्दै गाली गरिरहन्थिन् । आमाको लगातारको गालीकै कारण ती किशोरले पेस्तोलले आफ्नी आमा, दाजु तथा दुई दिदी-बहिनीलाई गोली प्रहार गरी हत्या गरेको बताइन्छ ।

प्रहरीका अनुसार गएको साता लाहोरको कहना इलाकामा ४५ वर्षीया हेल्थ वर्कर नाहिद मुबारक आफ्ना २२ वर्षीय छोरा तैमुर तथा १७ र ११ वर्षका दुई छोरीका साथ मृत अवस्थामा फेला परेका थिए । अहिले प्रहरीले यो मृत्युको रहस्य पत्ता लगाउन सफलता प्राप्त गरेको छ । लाहोर प्रहरीका अनुसार घरको एकमात्र जीवित १४ वर्षीय सदस्य नै यो हत्याको दोषी हो ।

प्रहरीका अनुसार नाहिद पारपाचुके लिएर बसेकी एकल महिला हुन् । उनी अक्सर आफ्ना सन्तानलाई पढाइमा ध्यान नदिएको र बढी समय पब्जीमा बिताएको भन्दै गाली गरिरहन्थिन् । घटनाको दिन पनि नाहिदले ती किशोरलाई पब्जी खेलेको भन्दै गाली गरेकी थिइन् । आमाको गालीबाट रिसाएको त्यो किशोरले त्यही राति सबैजना सुतेको मौकामा गोली प्रहार गरेका थिए । उनले आफ्नी आमाको आलमारीमा भएको पेस्तोल निकालेर प्रहार गरेको बताइन्छ ।

लाहोर प्रहरीका अनुसार ती किशोरले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । प्रहरीले अभियुक्तको रगतले लतपत कपडासमेत बरामद गरिसकेको छ । प्रहरीका अनुसार नाहिदले आफ्नो परिवारको सुरक्षाका लागि उक्त पेस्तोल खरिद गरेकी थिइन् । र त्यही पेस्तोल नै उनको मृत्युको कारण बन्यो ।

प्रतिक्रिया