‘बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन् । बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसंगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट न्युन लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताए ।
भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि सहभागिता थियो । पछिल्लो समय व्यापार पुर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपुर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए ।
पुर्वाधार, श्रम सम्बन्ध, विद्युत आपुर्ति आदिमा उल्लेख सुधार भइरहेको छ, उनले भने, हामीले बेलायतमा यी बिषय प्रस्तुत गर्न सक्नुपर्छ ।
नवनियुक्त राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताएका छन् ।
बेलायत अब इयुबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौ, उनले भने, यो मेरो प्राथमिकतामा रहेको विषय हो ।
राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नीजि क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई नीजि क्षेत्रको धारणा बुझ्न र यी विषयमा काम गर्न सहज हुने बताए ।

प्रतिक्रिया