नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले हमाललाई पुँँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि बोर्डको अध्यक्षका लागि अर्थमन्त्रालय मातहत रहने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समिति गठन गरिएको थियो । उक्त समितीले बोर्डको अध्यक्षको लागि अन्तिम चरणमा हमालसहित नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट गरि अर्थमन्त्रालयलाई बुझाएको थियो ।
समितिले सिफारिस गरेर पठाएको तीन जना मध्येबाट नै मन्त्रिपरिषद्को बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष हमालले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका छन् । नेपाल विद्युत् प्राधिकरणमा आठ बर्ष काम गरेको अनुभव हमालसँग छ ।
पूर्ण छात्रवृतिमा अध्ययन गर्न थाइल्याण्डको बैंकक पुगेका हमालले बैंककबाटै इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्नात्तकोत्तर गरेका छन् । उनी सन् २००७ देखि २०१० सम्म गैर आवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको को अध्यक्ष भएका थिए । थाई–नेपाल चेम्बर अफ कमर्समा पूर्वउपाध्यक्ष समेत भएर काम गरेका अनुभव उनीसँग छ । उनीसँग संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफ अपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत रहेको छ ।
यसअघि भने बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना रहेका थिए । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिव्रmी प्रकरणमा मुछिए पश्चात ढुंगानाले पदबाट राजीनामा दिएका थिए । सो पश्चात बोर्ड अध्यक्ष बिहिन भएको थियो ।
प्रतिक्रिया