शुक्रबार, जेठ ३, २०८२

रुससँगको भिडन्तमा १९८ युक्रेनीको मृत्यु, ३३ जना बालबालिका घाइते

नेपालखोज २०७८ फागुन १४ गते २०:०१

किभ । युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन् । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दिएको जानकारीअनुसार मृतकको संख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ । पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन् । घाइते भएका बालबालिकाको संख्या भने ३३ रहेको छ ।

देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खवर पठाए पनि उनले अस्वीकार गरेका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उनलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उनले अस्वीकार गरेको जनाएका छन् । विगतमा हास्यव्यांग्यकार तथा अभिनेता समेत रहेका उनको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया