युक्रेनको राजधानीमा क्षेप्यास्त्र प्रहार जारी
राष्ट्रपति जेलेन्स्कीलाई पक्राउ गर्ने रुसी योजना असफल

काठमाडौ । युक्रेनी राष्ट्रपतिले देश छोड्न अस्वीकार गरेका छन् । राजधानी किएभमा रुसी क्षेप्यास्त्र प्रहार जारी छ ।रुसी सेना विभिन्न मोर्चाबाट अगाडि बढिरहेको छ, तर युक्रेनले रुसी सैनिकहरूको प्रतिकार गरिरहेको जनाएको छ ।
युक्रेन सरकारले राजधानी किएभका चोकहरूमा लडाइँ जारी रहेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गर्ने रुसी योजना विफल बनाइदिएको बताएका छन् । रुसी आक्रमणमा हालसम्म १९८ युक्रेनीको मृत्यु भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।
रुसी फौज किभनजिकै आइपुग्दा शनिवार बिहानबाटै किएभका विभिन्न ठाउँमा विस्फोटका विवरण आएका छन् ।
युक्रेनका राष्ट्रपतिले यूके तथा अन्य मित्रराष्ट्रलाई रुसीआक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिवले रुसी सेनालाई ब्यारेकमा फर्किन आग्रह गरेका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसंख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरिरहेको छ । रुसी फौज किभनजिकै आइपुग्दा युक्रेनले प्रतिरोध गरिरहेको जनाएको छ ।
प्रतिक्रिया