कांग्रेसलाई जनमत थिएन तर प्रचण्डले प्रभु सरकार चलाइदिनुपर्यो भन्दै आए : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्ट पार्टीका नेताको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।कास्कीको मादी गाउँपालिमा शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलामा एमसीसी अनुमोदनका क्रममा आफ्नो अभिव्यक्तिलाई लिएर आलोचना गर्नेहरुलाई उनले जवाफ फर्काएका हुन् ।
थापाले संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारे छलफल भइरहेको बताएका छन् । तर स्थानीय चुनाव भने वैशाख ३० मै हुने भन्दै महामन्त्री थापाले संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताए । थापाले संसद अवरोध खुलाउन प्रधानमन्त्री शेरवहादुर देउवा र आफूहरु समेत पटक पटक एमाले अध्यक्ष केपी ओलीको निवासमा हात जोड्न पुगेको बताए ।
महामन्त्री थापाले कम्युनिस्टहरुले जनादेशको कदर गर्न नसक्दा कांग्रेसले देश चलाउने जिम्मेवारी लिनुपरेको बताए । उनले भने, ‘संसद अवरुद्ध छ, हामी संसद खुलाउन चाहान्छौं । त्यसैले हामी हात जोड्दै बालकोट पुगेका हों । हात जोड्ने पालो हाम्रो हो । हामी एमाले र केपी ओली होइनौँ । जिम्मा पाएकाले निहुरिन पनि जान्नुपर्छ ।’
उनले केपी ओली वा प्रचण्ड कोही पनि दोषमुक्त नरहेको भन्दै गठबन्धनमा रहेका कारण प्रचण्ड–माधवप्रति कांग्रेसको अतिरिक्त जिम्मेवारी नरहेको समेत प्रष्ट पारे । थापाले भने, ‘कांग्रेसलाई देखाइदियौं भनेर आएका कम्युनिस्टहरुले के गरे रु ५० वर्षसम्म कांग्रेस फर्केर आउँदैन भन्नेहरु अहिले कोही हामीसँगै गठबन्धनमा छन् । एउटाले संसद विघटन गरे, अर्को रोइ कराइ गर्दै लौन न प्रभु सरकार चलाइदिनुपर्यो भनेर आएपछि कांग्रेसले सम्हाल्नै पर्यो ।
महामन्त्री थापाले अहिलेको गठबन्धन आवश्यकताले बनेको भन्दै यसको काम चुनाव गराउने रहेको बताए । तर गठबन्धनमा बस्नासाथ चुनावमा पनि मिल्नुपर्छ भन्न नमिल्ने भन्दै प्रचण्ड-माधव समूहसँग चुनावी गठबन्धनबारे अहिले कुनै निर्णय नभएको बताए । थापाले भने, ‘गठबन्धनमा बस्नासाथ चुनावमा मिल्छौं कि मिल्दैनौं अर्कै विषय हो । २०५६ मा हामीले एमालेसँग मिलेर सरकार बनायौं । चुनाव कांग्रेस र एमालेको बीचमा भयो । सँगै सरकारमा बस्यौं,कांग्रेस पहिलो, एमाले दोस्रो पार्टी भयो ।’
महामन्त्री थापाले अबको चुनावमा सबैले कम्युनिस्टहरुलाई कसले मिलायो ? कसले फुटायो भनेर प्रश्न गर्नुपर्ने बताए । विदेशी अनुदान स्वीकार गर्दा मागेर देश चलाएको भनेर आलोचना गर्नेहरुलाई जवाफ दिँदै उनले भने, ‘उनीहरुका छोराछोरी पहिले नै अमेरिकालगायत देश गइसकेका छन्।’
गत आइतबार प्रतिनिधिसभाबाट एमसिसी पारित हुँदा थापाले रोष्टममा उभिएर अमेरिका, चीन, भारतलगायत जुन देशले अनुदान दिए पनि लिएर देश विकास गरिने अभिव्यक्ति दिएका थिए । थापाको उक्त अभिव्यक्तिपछि अरू देशबाट मागेर नेपाल चलाउने भन्दै आलोचना भएको थियो। त्यसतर्फ संकेत गर्दै थापाले भने, ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अस्ति नै अमेरिका गइसकेका छन्।’
महामन्त्री थापाले माले, मण्डले र मसालेहरू एकै प्रवृत्तिको भएको आरोप लगाउँदै उनीहरूले उत्तेजनाको राजनीति गरिरहेको पनि बताएका थिए। उनले भने, ‘मुठ्ठी कस्दै एउटा मण्डले आएर गफ दिन्छ । मागेर देश चल्छ ? मागेर अस्पताल बनाउने ? गिरिजाबाबुले माले, मण्डले र मसाले एकै हुन् त्यसै भनेको होइन । उनीहरू उत्तेजनाको राजनीति गर्छन्।’
प्रतिक्रिया